अनिल पराजुली/कतारः कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ११ हजार ९ सय २१ पुगेको छ । आज थप ६ सय ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिँदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एकहजार १ सय ३४ जना निको भएर घर फर्किएका छन् । आज मात्रै ६८ जना संक्रमित निको भएर फर्केका हुन् ।
त्यस्तै हाल यहाँ १० हजार ७ सय ७७ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म ८८ हजार ६ सय ७ जनाको कोरोना जाँच भएको छ । आज मात्रै २ हजार ८ सय ९८ जनाको कोरोना जाँच गरिएको थियो ।
कोरोना संक्रमणका कारण कतारमा १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या थपिँदै गएपछि संक्रमित र आशंका गरिएका विरामीहरुलाई राख्ने ठाउँ समेत अपुग हुन थालेको छ । थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु रहेका छन् । उनीहरु मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङ्क भने सार्वजनिक गरेको छैन ।
यहाँको जनस्वास्थ्य मन्त्रालयले समाजका सबै सदस्यहरूलाई भाइरस संकुचनको जोखिम कम गर्न सम्पूर्ण स्वास्थ्य दिशानिर्देशहरु र रोकथामका उपायहरूको पूर्ण पालना र सहकार्य गर्नका लागि अनुरोध गरेको छ । कतार लगायत खाडी मुलुकहरुमा भाइरसको स्थिति उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझै बढ्ने कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, सामाजिक र शारीरिक दूरी पनि कायम गर्न आग्रह गरिएको छ । भाइरस सम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने जनाइएको छ ।