रेणुका खतिवडा/भोक खाएर अघाउनु,
प्यास पिएर हृदय भिजाउनु-
सडक ओछ्याएर सुत्नु,
आकाश ओडेर निदाउनु ।

आँखाभरीका गह्रौँ सपनाहरूलाई,
जुत्ता बनाएर-
रहरका तुनाहरुले कस्दै,
कच्याक कुचुक कुल्चनु ।

र, हिँडिरहनु यावत अप्ठ्याराहरु ।

तर,
नरोकिनु यात्राहरुमा,
नहार्नु जिन्दगीसँग-
जिन्दगीमा सबैभन्दा महत्वपूर्ण जिन्दगी हुन्छ ।