राहुल गुप्ता/बीरगंजः बीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगी खाद्य सामग्री लिएर छप्कैया पुगेका छन् ।

बीरगंज २ स्थित छप्कैयामा कोरोना भाइरस संक्रमित फेला परेसँगै सो क्षेत्रमा शिल गरिएपछि त्यहाँको जनजिवन कष्टकर बनेको थियो । त्यहाँ रहेका करिब १ हजार ५०० सय विपन्न घर परिवारलाई पुग्ने खाद्यान्न लिएर मेयर सो क्षेत्रमा पुगेका हुन् । मेयर सरावगीको नेतृत्वमा नगरपालिकाको ट्रकमा लोड गरिएको खाद्यान्न वडा समितीलाई जिम्मा लगाएका छन् ।

छप्कैयास्थित मस्जिदमा बस्दै आएका तीन जना भारतीयमा करोना पोजेटिभ देखिएपछि सो क्षेत्रमा त्रास फैलिएको छ । मेयर सरावगीले कुनै पनि गरिब श्रमजिवि परिवार खाद्यान्नको अभावमा भोक भोकै बस्न नपरोस् भनेर समस्यामा परेका परिवारलाई राहत दिन सबै वडालाई निर्देशन दिइएको बताए । शिल भएको ठाउँहरुमा आजदेखि कोभिड १९ को र्यापिड किटबाट टेस्ट सुरु भएको छ।