श्याम गुप्ता/सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरस्थित खुला मञ्चको क्वारेन्टाइनमा रहेका ५ जनाको थ्रोट स्वाबको नमूना परीक्षणमा नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाईएको छ । उनीहरु घर गएसँगै वीरेन्द्रनगर खुलामञ्चको क्वारेन्टाईन खाली भएको हो ।

क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले मंगलबार काठमाडौंबाट स्वाब परीक्षणको रिपोर्ट आएको बताए । उनीहरुमा कोरोना नदेखिएपछि दैलेख घर भएका पाँचै जनालाई घर पठाईएको उनले जानकारी दिए ।

सेनाको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले बनाएको ४ सय जना क्षमताको क्वारेन्टाइन अब खाली भएको छ । भारतबाट घर फर्किने क्रममा रहेका दैलेख, कालीकोट, अछाम, सुर्खेत, जाजरकोट र जुम्लाका १ सय ८८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।