हेटौंडा/मकवानपुर जिल्लामै पहिलोपटक बागमती गाउँपालिकाले आफ्नै स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु गरेको छ ।

स्थानीय तहमै कोरोना परीक्षणको पहिलो दिन आज मंगलबार २० जनामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको बागमती गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दिनेश गुप्ताले बताए । प्राप्त जानकारी अनुसार उनीहरु सबैमा नेगेटिभ देखिएको छ । केही समयअघि बिदेशबाट आएर गाउँपालिकाको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना परीक्षण गरिएको हो । सो गाउँपालिकाभित्र विभिन्न वडामा गरी ३१ जना विदेशबाट आएका नागरिक गाउँपालिकाको सम्पर्कमा छन् ।

विदेशबाट आउनेहरुलाई गाउँपालिकाले निगरानीमा राखेको छ । ‘३१ जना सम्पर्कमा हुनुहुन्छ, तीमध्ये आज २० जनाको परीक्षण गरिएको हो’, स्वास्थ्य शाखा संयोजक गुप्ताले भने । जिल्ला स्वास्थ्य कार्यालयले आरडीटी परीक्षणका लागि सामग्री उपलब्ध गराएपछि बागमती गाउँपालिकास्थित फापरबारीमा ती परीक्षण भएका हुन् ।

गत फागुन २५ यता विदेशबाट आउनेहरुलाई गाउँपालिकाले निगरानीमा राखी स्वास्थ्यकर्मी घर घरमा पुगेर अवस्था बुझ्ने गरिएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए । कोरोना भाइरसको जोखिमबाट बचाउन सो क्षेत्रका नागरिकको सुरक्षाका लागि गाउँपालिकाले घर घरमा साबुन, सेनिटाइजर लगायत सरसफाई सामग्री वितरण गरेको अध्यक्ष घलानले जानकारी दिए । साथै, कन्ट्याक्ट ट्रेसिङमार्फत अन्य मुलुकबाट सो क्षेत्रमा भित्रने व्यक्तिहरुलाई निगरानीमा राखिएको जनाइएको छ । विश्वभर कोरोना महामारीको रुपमा फैलिएसँगै नेपालमा पनि यसको जोखिम बढेपछि उच्च सतर्कता अपनाउन थालिएको छ, भने गाउँपालिकाले यस्ता कार्यक्रम तीब्र रुपमा अगाडी बढाएको अध्यक्ष घलानले बताएका छन् ।