सांकेतिक तस्वीर

हेटौंडा/मकवानपुरको बागमती गाउँपालिका –८ का वडा सदस्य जित बहादुर रुम्बा मृत फेला परेका छन् । सात्तलेस्थित आफ्नो घर नजिकैको जंगलमा उनी सोमबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए ।

समाचार तयार पार्दासम्म घटनास्थलमा प्रहरीसहित स्थानीय पुगेको र सर्जमिन मुचुल्का उठाउने काम भइरहेको बागमती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर योञ्जनले जानकारी दिए । स्रोतका अनुसार उनले आत्महत्या गरेको आशंका गरिएको छ । यद्यपी घटनाबारे थप जानकारी लिन मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको अध्यक्ष योन्जनले बताए । मृतक रुम्बामा केही समयदेखि मानसिक समस्या देखिएको पारिवारले जनाएको छ । उनले विगत २ महिनादेखि डिप्रेसनको औषधि सेवन गरिरहेका थिए ।

गत भदौमा प्रेसरका कारण अल्पायुमै आफ्नो छोरीको निधन भएपछि ७४ वर्षीय रुम्बा मानसिक रुपमा विक्षिप्त थिए । श्रीमतीका साथमा सात्तलेस्थित घरमा रहँदै आएका उनी ‘निद्रा लाग्दैन’ भन्दै अक्सर रातीसम्म कुरा गर्ने गर्थे । आइतबार साँझ पनि श्रीमतिसँग राती धेरैबेर कुराकानी गरेको बुझिएको छ । ‘राती बाह्र बजेसम्म गफ गरेको हो, यो बुढा जहिल्यै यस्तै हो भनेर निद्रा लागेपछि म सुतेँ । कतिबेला बाहिर निस्के थाहा भएन’, पारिवारलाई उदृत गर्दै वडाध्यक्ष योञ्जनले भने ।

श्रीमतिलाई कुरा सुनाउँदा सुनाउँदै आफ्नो कुरा नसुनेर निदाएको देखेपछि रातको करिब २ बजे उनी घरबाट निस्केको हुनसक्ने अनुमान गरिएको छ । श्रीमति ब्युझिँदा उनलाई नदेखेपछि घरबाट निस्किएको आशंकामा खोज्दै जाँदा बिहान उनी मृत भेटिएका थिए । ‘२÷४ महिनादेखि वडाको काममा पनि खासै लाग्न सक्नुभएको थिएन’, वडाध्यक्ष योञ्जनले भने, ‘राती पनि निद्रा लाग्दैन, छटपटी हुन्छ भनेपछि मैले नै उपचार गर्न काठमाडौं जानु भनेको थिएँ ।’ उनका अनुसार मृतक रुम्बाले काठमाडौं गएर उपचार गरेपछि डिप्रेसनको औषधि सुरु गरेका थिए ।

केही दिनअघि कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न वडा साबुन वितरण गरिएको थियो । अस्वस्थताको कारण उनी त्यसमा पनि सहभागी हुन नसकेको र फोनबाट बेला–बेलामा आफूले स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको अध्यक्ष योञ्जनले बताए । ‘औषधि खान थालेपछि अलि कम हुँदै छ भन्नुहुन्थ्यो, अहिले यस्तो घटना भयो’, अध्यक्ष योञ्जनले भने ।