राहुल गुप्ता/बारा: विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोरोना भाइरस (कोभिड-१९)बाट अहिले सारा विश्व नै त्रसित छ। भाइरस नियन्त्रण तथा रोकथाम गर्न विभिन्न देशहरुले लकडाउन लागू गरेका छन् । नेपालमा लकडाउन जारी छ । कोरोना भाइरसबाट लाखौं लाख संक्रमित भएका छन्, भने एक लाखभन्दा बढी मनिसले ज्यान गुमाइसकेका छन् ।

यतिबेला राजनीतिक धरातललाई छोडेर मानवतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । कोरोना भाइरस सिंगो मानव समाजका लागि खतराको ठूलो संकेत हो । यसमा केन्द्र सांसद, प्रदेश सांसद तथा स्थानीय तह प्रमुख, जानकार विशेषज्ञहरु लगायत सबै जना एकजुट हुन जरुरी छ ।

बारा जिल्ला निर्वाचन क्षेत्र न. २ को निर्वाचित सांसद तथा समाजवादी पार्टीको महासचिव रामसहाय प्रसाद यादव कोरोना भाइरसको संक्रमण रोक्नका निम्ति आफ्नो क्षेत्रमा कुन भुमिकामा छन् ? सांसद यादवलाई ने.बि.संघ जिल्ला सचिव प्रभात सिंहको केही जिज्ञासा सहितका यसप्रकार प्रश्नहरु छन् ।

नेपालमा पनि कोरोनाको त्रास बढेको लगभग १ महिना भैसकेको छ । तर, तपाईंले आफ्नो क्षेत्रमा केही जिम्मेवार चासो देखाउनु भएन । के तपाईंलाई सांसदमा निर्वाचित गरि क्षेत्रको जनताले अपराध गरेका हुन् ?

१) बारा निर्वाचन क्षेत्र २ मा पर्ने जति पनि स्वास्थ शाखाहरु छन्, त्यस्मा कार्यरत स्वास्थकर्मी र सुरक्षाकर्मी जो निरन्तर फिल्डमा खटिएका छन्, जोखिमपूर्ण स्थितिमा काम गरिरहेका स्वास्थकर्मी र सुरक्षाकर्मीको स्वास्थ्यलाई मध्यनजर गर्दै तपाईं जस्तो निर्वाचित सांसदको पहलबाट एउटा मास्क पनि उपलब्ध गराएको छैन ।

२) कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रभागमा स्थानीय तहलाई राखिएको छ, जो सँग अनुभव छैन, स्रोत र साधन छैन । प्रत्यक्ष रुपमा परिचालनको दृष्टिकोणबाट केन्द्र देखिएको छ, भने अग्रभागमा स्थानीय तह देखिएपनि तपाईं मौन हुनुहुन्छ, त्यसो हो भने एउटा क्षेत्रमा माननीयको के काम?

३) राहत वितरण, लकडाउन कार्यान्वयन गराउन तथा तथ्याङ्क संकलनजस्ता प्रारम्भिक विषयमा केन्द्रका निकाय तथा स्थानीय तह देखिएको छ, के तपाईंको दाइत्व होइन आफ्नो जनतालाई आफ्नो पहलबाट आफ्नो कोषबाट राहत वितरण गराउन ? के एउटा सांसद को कर्तव्य होइन लकडाउन कार्यान्वयन गराउन तथा तथ्याङ्क संकलनजस्ता कार्यहरुको लागि थप भोलिन्टियरको ब्यवस्थापन गर्ने?

४) हाम्रो निर्वाचन क्षेत्र २ मा कुनै अस्पतालमा यथेष्ट प्रविधि, स्वास्थ्य सामाग्री, औषधि र स्वास्थ्यकर्मी छैन । वार्डको लागि चाहिने भेन्टिलेटर, कार्डियक मनिटर, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिइ) गाउन, मास्क, टोपी, पञ्जा, इन्फ्रारेड थर्मोमिटरलगायत सामानको चरम अभाव रहेको छ । यसप्रति तपाईं क्षेत्रको प्रतिनिधिको हिसाबले किन चासो नदिएको हो ?

५) क्षेत्र नं. २ भारतीय सिमानासँग जोडिएको भए पनि कोरोना भाइरसबाट अहिलेसम्म यस क्षेत्र भित्र कुनैपनि संक्रमित नहुनु सुखद पक्ष हो । तर, सिमानाको हिसाबले यो क्षेत्र खुल्ला सिमानाको कारणले गर्दा जोखिममा रहेको छ । यस क्षेत्रमा फैलिन सक्ने सम्भावित महामारी र भेटिने संक्रमितको उपचार गर्ने व्यवस्था तपाईंके मिलाउनु भएको छ ? यहाँ भएको स्वास्थ चौकी र अस्पतालहरुको स्थिति हेर्दा त्यसले धान्ने स्थिति छैन । तपाईंले पहल गरेर उचित व्यवस्थापन गर्न अनुरोध गर्दछु ।