हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २५१ औं साहित्य श्रृङ्खला आज शनिबार फेसबुक लाइभमार्फत् सम्पन्न भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण प्रविधिको उपयोग गर्दै कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

मकवानपुरको अग्रणी साहित्यिक संस्थाको रुपमा परिचित झरनाले नियमित रुपमा साहित्यिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले प्रविधिको प्रयोगमार्फत् सर्जकहरूलाई एकै ठाउँमा समेटेर समाजलाई सन्देश दिने उद्देश्यका साथ कार्यक्रम गरिएको झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले बताए ।

अडियो रेकर्डका माध्यमबाट फेसबुक लाइभमा प्रसारण गरिएको कार्यक्रममा साहित्यकारहरू सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिल, गजल मञ्च मकवानपुर अध्यक्ष देवराज तिवारी, कवि सुवास खनाल, संस्थाका अध्यक्ष दीपक गौतम, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, साहित्य सङ्गम मकवानपुरका सचिव डिबी बर्तौला, झरनाकी सदस्य मञ्जु दाहाल, नवसर्जकहरू प्रद्युम्न आचार्य, गोकर्ण लामा, भीम घोरासाइनी, स्वस्तिका दाहाललगायत १ दर्जन साहित्यकारहरूले कविता, गजल, मुक्तकजस्ता छोटा साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए ।

झरना साहित्यिक परिवारले हरेक वर्ष चैत महिनाको चौथो शनिबार आयोजना गर्दै आएको ‘मुक्तक साँझ’ (टिकटमा मुक्तक कार्यक्रम) हाललाई स्थगन गर्दै नियमित श्रृङ्खलालाई यस रूपमा प्रस्तुत गरिएको कार्यक्रम संयोजकद्वय चिरञ्जीवी लामिछाने र मसान उपासकले जानकारी दिए । झरनाले हरेक महिना मकवानपुरका ग्रामीण तथा सहरी क्षेत्रमा साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ ।