राहुल गुप्ता/बीरगंजः कोरोना भाइरस (कोभिड १९)को जोखिम कम गर्न पर्सा जिल्लाको बीरगंजमा आज बुधबार पनि सेनिटाईजर छर्किइएको छ । साहिब दरबार सेवा संस्थान चैरिटेबल ट्रस्ट एवं समपर्ण सेवा संस्था र टिभी बीरगंजको अगुवाईमा सरसरफाई अभियान अन्तर्गत आज पाँचौं दिन पनि सेनिटाइजन छर्किइएको हो ।

नगर क्षेत्रमा कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सेनिटाईजर छर्किएको साहिब दरबार सेवा संस्था नेपालका संयोजक राजेश मान सिंहले बताए । सिंहको नेतृत्वमा बीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर हुँदै वडा नं. १६ भंसार क्षेत्र, रेल्वेरोड, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँहरुमा सेनिटाईजर छर्किएको संस्थाका सदस्य रुपेश मान सिंहले जानकारी दिए ।

कोरोना बिरुद्धको लडाईं सबैको भन्दै साझा अभियान अन्तर्गत बीरगंज नगर क्षेत्रको हरेक वडाहरुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागि निःशुल्क सेनिटाईजर छर्किएको अभियानमा क्रियाशील संस्थानका सदस्य कलाम मंसूरले बताए । उनले भने, ‘कोरोनाले कसलाई चिन्दैन, यसबाट बच्नका लागि हामीहरुले सुरक्षा र सतकर्ता अपनाउन आवश्यक छ ।’

अभियन्ताहरुले ”साबुन पानीले धौऔं, सेनिटाईजर प्रयोग गरौं, भिडभाड हुने स्थानमा नजाऔं, सुरक्षा सतकर्ता अपनाउँ, कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाउँ” भन्दै सन्देशमूलक गतिविधि गरेको अभियन्ता रूपेश मान सिंहले जानकारी दिए ।

नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेको भन्दै उनीहरुले लक डाउनको उल्लंघन नगर्न, घरमै बस्न र कोरोनाबाट सुरिक्षत रहन आग्रह गरे । सरसफाई कार्यक्रममा अभियन्ताहरु रूपेश मान सिंह, लियाकत अली, अफरोज आलम, सुरेश मान, राहुल तुलस्यान, जियाउल हक, कलाम मंसूर लगायतको सहभागी थिए ।