आइसोलेसन हस्तान्तरण कार्यक्रममा सांसद यादव लगायत सहभागीहरु । तस्वीर: राहुल गुप्ता / बीरगंज

राहुल गुप्ता/बीरगंजः बीरगंजको नारायणी अस्पतालमा निर्मित २० शैयाको आईसोलेसन आज शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

विश्वमा कोरोना भाईरसको महामारीले त्रास सृजना गरेको बेला बीरगंजको नारायणी अस्पतालमा ५ शैयाको आइसोलेसन पर्याप्त नभएको भन्दै पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवले त्यहाँका सहयोगीहरुलाई आग्रह गरेका थिए ।

सांसद यादवको पहल तथा सहयोगी दाता वेलफेयर सोसाइटीका सुरेश रुङ्ग्टा र जगदम्बा सिमेन्टका राजेश अग्रवालको सहयोगमा २० शैयाको आईसोलेसन निर्माण भएको हो । सहयोगी दाता र सांसद यादवले संयुक्त रुपमा नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायलाई आइसोलेसन हस्तान्तरण गरेका हुन् ।

बीरगंजको नारायणी अस्पतालमा आवश्यक पिपिई सामाग्री, स्वाब टेस्ट किड र ल्याब स्थापनको लागि सरकारलाई आग्रह गरेको भन्दै सांसद यादवले सो आग्रहलाई बेवास्ता गरिए बीरगंजका जनताहरुको ज्यानको लागि धर्ना बस्न पनि तयार रहेको बताए ।