आरती भण्डारी/कोभिड-१९ को लकडाउनले
म एउटालाई मात्रै होईन,
कमरेडलाई पनि फुर्सदिलो बनाएको छ
उठ्ने बित्तिकै फेसबुक खोल्ने प्रायः सबैको बानी हुन्छ
मेरो पनि फेसबुक खोलेरै दिनको सुरुवात हुन्छ
फेसबुक खोल्नेबित्तिकै अनौठो लाग्छ
ग्रुप च्याटका मेसेज टिङ्टिङ बज्छन्
एकले अर्कालाई मरिमरी गाली गरिएका हुन्छन्
सम्यमित कोहि देखिँदैन
यति मिठो ‘कमरेड’ शब्दले कसैले सम्बोधन गर्दैन,
न एक अर्काप्रति हार्दिकता छ
स्टाटसहरु त्यस्तै कडा कमरेडहरुको
नामै तोकेर उफ्रि उफ्री, आफ्नै साथीको बिरोध गरिन्छ ।
तिमीहरु यस्ता छौ, तिमीहरुले यसो गर्यौ
तिमीहरुको ईतिहास यस्तो हो भन्दै नङ्याईन्छ ।
ईतिहास जस्तो भएपनि, हैसियत जस्तै भएपनि
एकता भएपछि हाम्रो हैसियत समान हो
क्षमता फरक हुन सक्छ
क्रियाशिलता घटिबढी हुन सक्छ
हामी कोही समायोजन भएका होईनौं
हाम्रो ऐतिहासिक एकता भएको हो
हामी बिच किन हार्दिकता छैन ?
हामी बिच किन आत्मीयता छैन ?
सामान्तबाद र पुँजीबादका नाईकेलाई तह लगाउँदै
समाजबादसम्म यात्रा गर्न तयार भएका हामी
आफुलाई किन कमजोर पार्दैछौं ?
आफ्नै साथीलाई किन बैरी सम्झँदै छौं ?
गरिबका आङ्गका नाना फेर्न सक्नुपर्ने,
ती सुकुम्बासीका छाना फेर्नुपर्ने,
तर हामी त आफै आफै खुईलिँदै छौं ।
खुईल्याउँदै छौं ।
हामीलाई पुर्खाले देखाएको बाटो यो होईन
प्रिय कमरेडहरु !
तपाईं हामी त आफ्नो होईन देशको निम्ति,
परिवारभन्दा समाजको निम्ति
हाँस्दै मर्ने कसम खाएका होईनौं र ?
एकता र हार्दिकतामा आँच आउन दिनेछैन भन्दै
लिएका शपथहरु बिर्सिएकै हो त ?
लाखौं पटक अनुरोध गरिसकियो
आफैलाई कमजोर नपार्नुस् भनिसकियो
अब त सुन्नुस् अनि सोच्नुस्
हामी त साम्यवाद ल्याउने सिपालु ड्राईभर बन्नुपर्छ
भोका नाङ्गाहरुले हामीप्रति आशा गरिरहेका छन्
बालुवा चालेर छाक टार्नेहरु
गिट्टी कुटेर छाक टार्नेहरु
आशाको सानो त्यान्द्रो बोकेर हामीलाई हेर्दैछन्
सच्चिनुहोस् त भन्दै भन्दिनँ,
सच्चिनलाई बिग्रिएको हुनुपर्छ ।
कमरेडहरु सम्यमित बनिदिनुहोस्
हामी यसरी फुट्दै गयौं भने,
हामीबिच वाक युद्ध मात्रै चलिरह्यो भने,
तानाशाहका रक्षाकवजहरु
दुलो दुलोबाट डम्फु ठटाउँदै निस्किनेछन् ।
त्यसैले कमरेडहरु,
पुँजीबादी दलालका चम्चा होईन,
समाजबादका ड्राईभर बनौं । (कवि अनेरास्ववियुको केन्द्रीय सदस्य हुन् ।)