हेटौंडा : कोरोनाको त्रास बढेसँगै मकवानपुरका स्थानीय तहहरुले यसविरुद्धको अभियानमा सक्रिय भएका छन्। संघीय र प्रदेश सरकारको गति पछ्याउँदै यहाँका तहले अभियानलाई तीव्र बनाएका हुन्।

भाइरस फैलन नदिन मुलुकमा लकडाउन गरिएपछि स्थानीय सरकार यसविरुद्धको अभियानमा केन्द्रित भएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए। ‘सम्पूर्ण रुपमा यहाँका नागरिकलाई कसरी सुरक्षित बनाउने भन्नेमा केन्द्रित छौं’, उनले भने। उनका अनुसार बागमतीमा गाउँपालिका बोर्डले निर्णय गरेर घरघरमा साबुन वितरण गरिएको छ। गाउँपालिका छिर्ने मुख्य नाकाहरुमा हेल्पडेस्क बनाइएको छ भने विद्यालयमा क्वारेन्टाइन तयारी अवस्थामा छ।

सामान्य स्वास्थ्य परीक्षणपछि मात्रै गाउँपालिका प्रवेश गराउने र निगरानीमा रहेका नागरिकको घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाले निर्णय गरेको छ। लकडाउनका कारण जिल्लाका विभिन्न स्थानमा अलपत्र परेका स्थानीय बासिन्दालाई घर फर्काउन गाउँपालिकाले पहल गरेको छ। सूचना जारी गरी समस्यामा परेका नागरिकलाई घर फर्काउन पालिकाले पहल गरेको हो।

यस्तै, मकवानपुरको बकैया गाउँपालिकाले पनि कोरोना भाइरसको सम्भावित जोखिमविरुद्ध लड्न स्थानीय तहलाई सक्षम बनाएको छ। गाउँपालिकाले सूचना जारी गरी काठमाडौंलगायत अन्यत्रबाट आएका स्थानीयलाई अनिवार्य रुपमा कम्तिमा दुई हप्ता निगरानी कक्ष (क्वारेन्टाइन) मा बस्न अनुरोध गरेको हो। साथै, स्वास्थ्यसम्बन्धी समस्या परेमा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि गाउँपालिकाले अनुरोध गरेको अध्यक्ष दामोदर खनालले बताए। उनका अनुसार बकैया गाउँपालिकाले फोनबाटै ओपिडी सेवा सञ्चालन गर्ने तयारी थालेको छ।

थाहा नगरपालिकाले विदेशबाट फर्केका नागरिकको स्वास्थ्य परीक्षण गरेको छ। जोखिम न्यूनीकरणका लागि थाहाले विदेशबाट घर फर्किएका नागरिकलाई विशेष निगरानीमा राखी स्वास्थ्य परीक्षण गरेको हो। सहयोगको नाममा जथाभावी चन्दा रकम संकलन र वितरण नगर्न पनि अनुरोध गरिएको थाहाका मेयर लवशेर बिष्टले बताए। उनका अनुसार नगरपालिकाले २५ शैय्याको क्वारेन्टाइन निर्माण गरिसकेको छ।

जिल्लाको दुर्गम क्षेत्रको रुपमा चिनिने कैलाश गाउँपालिका सचेतनात्मक अभियान लिएर गाउँ गाउँमा पुगेको छ। ‘कोरोनाविरुद्ध सचेतना जगाउन यहाँका जनप्रतिनिधि गाउँमा पुगेका हौं’, कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले भनिन्। सिमान्तकृत, अल्पसंख्यक र भूमिहीन समुदायको बसोबास रहेको मनहरी गाउँपालिकामा पनि सो वर्गलाई लक्षित गरी अभियान तीव्र पारिएको छ। दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएका भूमिहीन समुदायका लागि सहयोगको प्याकेज ल्याउन लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए।

हेटौंडा उपमहानगरपालिकाले सुरक्षित अल्पकालीन आ श्रय स्थल सेवा केन्द्र र क्वारेन्टाइनमा खाद्य सामग्री वितरण गरेको छ। क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेकालाई आवश्यक पर्ने खाद्य सामग्री (चामल, दाल, तरकारी, तेल, नुन) वितरण गरिएको मेयर महतले बताए। साथै, वडावडामा रहेका स्वास्थ्य केन्द्रले विदेशबाट फर्किएका नागरिकको पहिचान गरी लगत संकलन गरेको छ। उपमहानगरमा पछिल्लो साता प्रवेश गर्ने एक सय ४७ जना पहिचान गरी विशेष निगरानीमा राखिएको मेयर महतले बताए। –अन्नपूर्ण पोस्ट्