अनिल पराजुली/कतारः कतारमा मंगलबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ सय ८१ पुगेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार राती दिएको जानकारी अनुसार कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट कतारमा मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्रै थप ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या सोमबारको तुलनामा दोब्बर रहेको हो । मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्म ६२ जना निको भएर घर फर्केका छन् ।
हालसम्म २२ हजार ३ सय ४९ जनाको स्वास्थ्य परीक्षण भएको छ । मंगलबार मृत्यु हुने ५८ वर्षीय व्यक्ति रहेका छन् । भाइरसका कारण कतारमा यसअघि ५७ वर्षीय एक बंगलादेशी नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुवै जनामा पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी रोग थियो । उनलाई मार्च १६ मा अस्पताल भर्ना गरिएको थियो ।
चीनको वुहानमा गत डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको संक्रमण कतारमा पहिलो पटक एक ३६ वर्षीया कतारी नागरिकमा देखिएको थियो । कतार सरकारले भाइरस संक्रमण फैलिएपछि आफ्ना नागरिकलाई इरानबाट चार्टर्ड विमान मार्फत स्वदेश फिर्ता ल्याएको थियो ।
अन्य देशहरुबाट हालै कतार आएका नागरिकहरुमा भाइरस संक्रमण देखिएको यहाँबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको र संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने आवश्यक चिकित्सा सेवा तथा उपचार प्रदान गरिएको गल्फ टाइम्सले जनाएको छ ।
यहाँको जनस्वास्थ्य मन्त्रालयले समाजका सबै सदस्यहरूलाई भाइरस संकुचनको जोखिम कम गर्न सम्पूर्ण स्वास्थ्य दिशानिर्देशहरू र रोकथामका उपायहरूको पूर्ण पालना र सहकार्य गर्नका लागि अनुरोध गरेको छ । भाइरससम्बन्धी कुनै जिज्ञासा भएमा मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने पनि जनाइएको छ ।