आरती भण्डारी/ म कहिलेकाहीँ कल्पना गर्छु,
एक्लै एक्लै सोच्ने गर्छु,
बाघ र बाख्रालाई एकै खोरमा बाँधेर–
कि त दुबै मिली घाँस खाउ,
कि दुबै मिली मासु खाउ भन्यो भने–
साँच्चै तिनीहरु के गर्लान् ?
दुबैले घाँस खान्छु भन्लान् र ?
या दुबैले मासु नै खालान् र ?
अहँ खाँदैनन् ।
बाघको प्रकृति मासु नै खाने हो,
बाख्राको प्रकृति घाँसै खाने हो ।
दुबैलाई जबर्जस्ती कहाँ गर्न सकिएला ?
आलोचना र बिरोध फरक कुरा हो ।
कमरेडहरुले सम्बन्धित ठाउँमा,
सम्बन्धित कमिटीमा
कहिल्यै आलोचना गर्नुभएन ।
आत्मालोचना पनि गर्नुभएन ।
सक्रियताको परिभाषा नबुझ्ने साथीहरु
योगदानको कदर गर्न नसक्ने साथीहरु,
सरकारको बिरोध गर्न फुर्सद पाउनुभएको छ ।
नेताहरु खुईल्याउन समय पाउनुभएको छ ।
संसारभर कोलाहल मच्चिईरहेको बेला,
भोका नाङ्गा र असहायहरु,
दिनभर कोदालो खनेर छाक टार्नेहरु,
एकल महिला र बृद्ध बा आमाहरु,
अब के खाने भन्दै छट्पटीएका बेला ।
न कमरेडले सरकारलाई सुझाव दिनुभो,
न कमरेडले सहयोग नै गर्नुभो,
आफ्नै घरका दाजुभाई दिदीबहिनीहरु,
आफ्नै घरका काका काकीहरु,
आफ्नै परिवारका सदस्यहरु,
कोही कसैलाई सुझाव दिन नसक्ने ।
बिरोधका निम्ति बिरोध मात्रै गरिरहने
यो त हाम्रो विधिभित्र थिएन त साथी
कहाँबाट आयात गरिँदैछ ?
हामी सँधै चाहन्छौँ
बाघको कारण बाख्रा भोकै नमरोस्,
बाख्राको कारण बाघ भोको नपरोस् । (कवि अनेरास्ववियुको केन्द्रीय सदस्य हुन् ।)