हेटौंडाः गाउँपालिकाको विकासका लागि स्पष्ट योजना तय गर्ने उद्देश्यका साथ आजबाट मकवानपुरको बकैया गाउँपालिकामा आवधिक विकास योजना तर्जूमा कार्यशाला सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने कार्यशालाको आज एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र उपाध्यक्ष सरला बोलखेले व्यानरमा हस्ताक्षर गर्दै संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बकैया गाउँपालिका अन्तर्गतका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका कर्मचारीहरु लगायत सरोकारवालाहरु कार्यशालामा सहभागी छन् ।

रिसर्च एजेन्सी फर फेडरल एण्ड लोकल डेभलपमेन्ट काठमाडौंको सहजीकरणमा बकैया गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको हो । आफ्नो पालिका विकासका लागि योजना बनाउने साहस गरेको भन्दै प्रशिक्षक विके महर्जनले बकैया गाउँपालिकाको प्रशंसा गरे ।

यसअघि मकवानपुरगढीमा यस्तो कार्यक्रम सञ्चालन भएको थियो । जिल्लाको १० स्थानीय तहमध्ये आवधिक योजना बनाउने पालिकामा बकैया दोस्रो हो । विकास योजनाले पालिका विकासमा सहयोग गर्ने र स्थानीय तहको विकासले नागरिकको भावनालाई समेट्दै संघीयता संस्थागत गर्न सहयोग गर्ने प्रशिक्षक महर्जनको दाबी छ ।