म एकदिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा कुनै एउटा कार्यक्रममा सहभागी हुँदा त्यहाँ श्रमिक महिला दिवश र अन्तर्राष्ट्रिय महिला दिवशको विषयमा एकछिन बहस पनि भयो । कतिले श्रमिक महिला दिवश राख्नुपर्छ भन्नेहरु पनि निस्किए । तर, किन राख्ने भन्ने कसैले पनि व्याख्या गर्न सकेनन् । त्यसैगरी कतिले अन्तर्राष्ट्रिय महिला दिवश भन्नुपर्छ भन्ने पनि निस्किए । वास्तवमा म पनि यस विषयमा जानकार थिईनँ । म महिला अधिकारको क्षेत्रमा काम गरेको समय पनि निकै नै भएछ । तर, पनि यस्ता ससाना तथ्यगत थाहा नहुँदा यकिनका साथ भन्ने कोही पनि निस्किएनन् । र, म पनि अलमल्ल परी बसेँ । त्यसपछि मैले यसको बिषयमा अध्ययनका लागि विभिन्न लेख तथा पुस्तकहरु अध्ययन गरेँ । यो त वास्तवमा धेरै महत्वपूर्ण कुरा रहेछन् ।

हामीले श्रमिक महिला दिवशलाई भव्यताका साथ मनाउन विभिन्न कार्यक्रमहरु संचलान गरिरहँदा कतिपय अवस्थामा यो कसरी सुरु भयो भन्ने विषयलाई बिर्सेका छौँ । साथै यसलाई सुरुवात गर्ने महान व्यक्ति क्लारा जेट्किनलाई पनि बिर्सेका छौँ । उनले नै ईतिहासमा श्रमिक महिलाहरुको हकहितको बारेमा वकालत गर्नुभएको छ । उहाँलाई समाजवादी नेतृ भनेर पनि चिन्ने गरिन्छ । उनले जर्मनीको फासिस्ट शासक बिस्मार्कले समाजवादीहरुलाई सिध्याउनको लागि समाजवादी विरोधी ऐन लागू गरेपछि जेट्किनलाई जर्मनीमा बस्न दिईएन । जेटेकिनले पनि दवाव सहन नसकी अस्ट्रिया स्वीटजरल्याण्ड हुँदै फ्रान्सको राजधानी पेरिस पुग्नुभयो ।
श्रमिक महिला दिवश ८ मार्चको सुरुवात कसरी भयो ?
यसको प्रारम्भ सन् १९१० मा समाजवादी नेतृ क्लारा जेट्किनले कोपेनहेगनमा भैरहेको समाजवादीहरुको दोस्रो ईन्टरनेशनलको बैठकमा महिला दिवशलाई ८ मार्चका दिन संसारभरि मनाउनुपर्छ भनी प्रस्ताव पेश गर्नुभएको थियो । र, सोही प्रस्तावलाई सम्मेलनमा सर्वसम्मत रुपमा पारित भएको हो । त्यसपछि १९११ देखि यो दिवशलाई मनाउन थालेको हो ।

मार्च ८ को दिनमा नै श्रमिक महिला दिवश मनाउने प्रस्ताव किन राखियो ?
सन् १९०८ को मार्च महिनाको आठ तारिखको आईतबारका दिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरका गार्मेन्ट कारखानामा धेरै समाजवादी श्रमिक महिलाहरुले विरोध प्रदर्शन गरेका थिए । उनले त्यहाँको प्रसिद्ध चोक रुजर स्क्वाएरमा जम्मा भई महिलाहरुलाई मताधिकारको अधिकार दिलाईयोस्, गार्मेन्टमा काम गर्ने मजदुरहरुको लागि शक्तिशाली ट्रेड युनियन गठन गर्न दिईयोस् भनी माग गरेका थिए ।
सन् १९११ मा मार्च आठका दिन युरोपका श्रमिक महिलाहरुले काम गर्न पाउने अधिकार, मताधिकार, व्यावसायिक तालिम र असमानता तथा विभेदीकरणको अन्त्यको माग गर्दै युरोपभरी प्रदर्शन गरेका थिए । सन् १९११ को श्रमिक महिला दिवसको कार्यक्रमको विषयमा रसियाको सामाजिक जनवादी पार्टीकी प्रसिद्ध नेतृ अलेक्जेण्ड्रा कोलोन्ताईले पुरुषहरुलाई मार्च आठका दिन आफ्ना बालबच्चाहरुको स्याहार गरेर घरैमा र गृृहिणीको रुपमा कैद भएका महिलाहरुलाई मार्च आठको सभाहरुमा पठाउन अपील गरेकी थिईन् । सन् १९१७ मा अलेक्जेन्ड्रा कोलोन्ताई र जर्मन समाजवादी नेतृ क्लारा जेट्किन दुबैले युद्धपछिको रसियाको पिटर्सबर्गमा आयोजित पहिलो ८ मार्चको कार्यक्रममा भाग लिनुभएको थियो । सोभियत युनियनको सामाजिक सुरक्षामन्त्री समेत रहनुभएकी कोलोन्ताईले लेनिन समक्ष मार्च आठको दिनलाई आधिकारिक रुपमा नै बीरङ्गाना श्रमिक महिला दिवसको रुपमा मनाईयोस् भनी प्रस्ताव गर्नुभएको थियो । पछि गएर उक्त मार्च आठको दिनलाई नै संयुक्त राष्ट्रसंघले सन् १९७५ मा संयुक्त राष्ट्रसंघको महिला अधिकार र शान्ति दिवशको रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालका मार्च आठले कहिले देखि वैधानिकता पायो ?
श्रमिक महिला दिवश मार्च आठले नेपालमा बि.सं. २०४६ सालको जनआन्दोलन पश्चात बैधानिक रुपमा मान्यता पाएको हो । तर, उक्त दिनलाई सार्वजानकि विदाको दिनको रुपमा सरकारले मान्यता दिएको थिएन । २०४६ साल अघि भने श्रमिक महिला दिवस वैध थिएन । यसलाई अवैध घोषणा गरिएकोले भुमिगत रुपमा क्रन्ति र परिवर्तन तथा निरंकुश व्यवस्थालाई फाल्नका लागि उर्वराभुमि तयार पार्नका लागि संगठन र पार्टीलाई मजबुत पार्ने अपीलका साथ वा अन्य कुनै नाम दिएर मनाउने गरिएको थियो । अहिले संसार भर यस दिवशका दिन विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरेका छन् । महिला हक अधिकार सुनिश्चिताका लागि, घरेलु हिंसा विरुद्ध, यौन हिंसा लगायत अर्थपूर्ण सहभागिता महिलाहरुको नीति निर्माण तहदेखि विभिन्न तमहरुमा अनिवार्य र समानताका लागि श्रमिक महिला दिवश मनाउने गरिन्छ । नेपालमा २०६२/०६३ को दोश्रो जनआन्दोलन पश्चात मात्र आठ मार्चका दिन सरकारी वा सार्वजानिक विदा दिने चलनको सुरुवात भएको छ । यस दिवशको नाराहरु पनि समय सपेक्ष अधिकार प्राप्ति र आर्थिक सामाजिक रुपान्तरणका आधारमा धेरै नै परिवर्तन भैसकेको भएता पनि समाजवादबाट श्रमिक आन्दोलन अझैपनि ढलपल भएको छैन ।

हामीले यस दिवश मनाई रहँदा कहिले पनि ईतिहासलाई विर्सन हुँदैन । ईतिहासलाई बारम्बार दोहोर्याउनु पर्छ । जसले गर्दा अगामी आउने नयाँ पिँढीले यस विषयमा बुझ्ने अवसर पाईन्छ । ताकी म जस्तो अलमल्लामा नपरोस् । आफू महिला अधिकारकर्मी भनी विभिन्न सभा तथा समारोहहरुमा विभिन्न दिवशहरुको विषयमा भाषण गर्ने । तर, मुलभूत बिर्सिएर वा थाहा नभएर हिँड्यो भने कुनै दिवश मनाउनुको औचित्य हुँदैन जस्तो लाग्छ । हरेक दिवशको महत्व बुझ्न आवश्यक छ ।
सन्दर्भ सामाग्रीहरु– मूल सामाग्री युरोपियन ओम्यान अन द लेफ्ट, श्रमिक महिला दिवस सम्बन्धी सामाग्री बि.सं. २०६४ साल