हेटौंडाः गृहिणी तथा महिलाहरुलाई लक्षित गरी व्यवसाय सुरु सम्बन्धी तालिम आज एक समारोहका बीच समापन गरिएको छ । एकीकृत ग्रामीण विकास सेवा आईभिडिएस हेटौंडाको आयोजनामा सञ्चालित व्यवसाय सुरुवात तालिमको समापन गरिएको हो ।

उद्योग, पर्यटना, वन तथा वातावरण मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आर्थिक सहयोगमा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत ८ दिने तालिको समापन गरिएको हो । तालिममा व्यवसाय सम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यवहारिकसँगै व्यवसायका हरहिसाब राख्न र योजना बनाउने विषयमा जानकारी दिईएको आयोजकले जनाएको छ ।

आयोजनाका संस्थाका सचिव मिन प्रसाद पौडेलले महिलाहरुलाई उद्यमशिल बनाउन यो तालिमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा ४५ दिने होजिहारी तालिम १२ जनालाई, ३ महिने ब्यूटीपार्लर तालिम १८ जनालाई र १५ दिने कृषि तथा पशुपालन तालिम १० जनालाई प्रदान गरिने जानकारी दिए ।

आईभिडिएसका उद्यम विकास सहजकर्ताहरु कमला दर्जी र कोपिला थापाले तालिममा सहजीकरण गरेका थिए । भिमफेदी गाउँपालिका–६ का वडाध्यक्ष सिताराम थापाको अध्यक्षतामा तालिमको समापन गरिएको हो ।