हेटौंडा, फागुन २५
अफगानिस्तानको काबुलमा आयोजित एक कार्यक्रममा गोली चल्दा ३२ जनाको मृत्यु भएको छ । हराजा समुदायका नेता अब्दुल अली मजरीको मृत्यु भएको २५ वर्ष पुगेको सम्झनामा आयोजना गरिएको कार्यक्रममा गोली चलेको हो । उक्त गोली काण्डमा ६० जनाभन्दा धेरै घाइते भएको र आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको बीबीसीले उल्लेख गरेको छ । आक्रमणमा अफगानिस्तान सरकारका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहलाई सकुशल बाहिर निकालिएको थियो ।

प्रहरीले कार्यक्रम भइरहेको स्थानभन्दा केही टाढा रहेको भवनबाट गोली प्रहार गरिएको जनाएको छ । गोली प्रहार गर्ने दुईजनालाई प्रहरीले जवाफी कारवाहीमा मारेको बताइएको छ । अमेरिका र तालिबानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तान धेरै संख्यामा मानिसको मृत्यु हुने गरी भएको यो पहिलो आक्रमण हो ।