हेटौंडाः साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालसहित विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा योगदान पुर्याउने सात जनालाई मकवानपुरमा सम्मान गरिने भएको छ ।

मकवानपुरको छतिवनमा २०५० सालमा स्थापित झरना साहित्यिक परिवारले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्न लागेको झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दिपक गौतमले जानकारी दिए । परिवारले साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ बाट सम्मान गर्न लागेको छ । नगद रु. १५,५५५ राशीको यो सम्मान झरनाका सल्लाहकार तथा छतिवनका स्थायी बासिन्दा नुरप्रसाद गौतमले स्थापना गरेका हुन् ।

त्यसैगरी शिव–साबित्री अधिकारी मुक्तक सम्मान–२०७६ मुक्तककार उषा शेरचनलाई प्रदान गरिने भएको छ । नगद रु. ११,१११ राशीको यस सम्मान झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले स्थापना गरेका हुन् । बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६ व्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’लाई प्रदान गरिने भएको छ । नगद रु. ११,१११ राशीको यस सम्मान विनोद सुवेदीले स्थापना गरेका हुन् ।

त्यस्तै, खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६ विनोदविक्रम के.सी.लाई प्रदान गरिने भएको छ । नगद रु. ५,५५५ राशीको उक्त सम्मान मामाघरका परिकल्पनाकार अर्पण पराजुली र दर्पण पराजुलीले गरेका हुन् । त्यसैगरी, शुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६ कवि विना थिङ तामाङलाई प्रदान गरिने भएको छ । नगद रु. ५,५५५ राशीको उक्त सम्मान राजन दङ्गालले स्थापना गरेका हुन् ।

त्यस्तै, सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७६ साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई प्रदान गरिने भएको छ । नगद रु. ५,५५५ राशीको उक्त सम्मानको संस्थापक तुल्सी गिरी हुन् । यसवर्ष पत्रकारतर्फको सम्मान वरिष्ठ पत्रकार प्रताप विष्टलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष गौतमले जानकारी दिए ।