सांकेतिक तस्वीर

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१, महादेवडाँडाकी एक महिलाले स्वास्थ्य शिविरमै शिशुलाई जन्म दिएकी छन् । शनिबार यहाँस्थित सामुदायिक स्वास्थ्य इकाईमा आयोजित स्वस्थ्य शिविरमा जाँच गराउन आएकी महिलाले शिविरमै शिशुलाई जन्म दिएकी हुन् ।

स्वास्थ्य शिविरका लागि स्त्रीरोग विशेषज्ञ डा. रामकाजी महर्जन सहितको टोली त्यहाँ पुगेका थिए । डा. महर्जनको उपस्थितिमा महिला आमा बन्न पाउँदा उनका परिवारका साथै शिविरमा सहभागी सबै खुशी देखिए । यस क्षेत्रमा स्वास्थ्य केन्द्र तथा प्रसुती गृहको अभावमा कतिपयले सामान्य स्वास्थ्य सेवा पनि समयमै नपाएको त कतिपय महिलाहरुले बच्चा जन्माउन नसकेर ज्यान गुमाउनु परेको वडाध्यक्ष बुद्धिमान वाइबाले बताए । यिनै समस्यालाई मध्यनजर गरी गाउँपालिकाले १ नम्बर वडाको महादेवडाँडामा वर्थिङ सेन्टर सहितको सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको हो । गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र उपाध्यक्ष सरला बोलखेलगायतले संयुक्त रुपमा शनिबार इकाईको उद्घाटन गरे ।

केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दामोदर खनाल भने, ‘घरमा सुत्केरी हुने होइन, अब यस केन्द्रको उपयोग गर्नुपर्छ ।’ गाउँपालिकाले विस्तारै विकासको गति लिएको भन्दै उनले आशावादी भएर अघि बढ्न स्थानीयलाई आग्रह गरे । केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सरला बोलखेले भौतिक विकाससँगै चेतनाको विकासमा पनि जोड दिन र सामाजिक कुरिती हटाउन सबैजना अभियन्ताको रुपमा अघि बढ्न सुझाव दिइन् । त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले केन्द्रको औपचारिक उद्घाटनपूर्व नै ५ जनाले प्रसुती सेवा लिनु राम्रो संकेत भएको बताए । ग्रामीण क्षेत्रमा स्वास्थ्यकेन्द्र स्थापना हुनु आफैमा महत्वपूर्ण उपलब्धी रहेको भन्दै १ नम्बर वडा सचिव पुजन न्यौपानेले केन्द्रबाट सेवा लिई लाभ उठाउन सहभागीहरुलाई अनुरोध गरे ।

इकाईबाट प्रसुती सेवा लिने ५ जना सेवाग्राहीलाई गाउँपालिकाले प्रदान गर्ने स्वास्थ्य केन्द्रमा प्रसुतीवापतको भत्ता कार्यक्रमको अवसरमा वितरण गरियो । साथै, वडामा रहेर स्वास्थ्यको क्षेत्रमा दिएको योगदानको कदर गर्दै वडाका ५ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई प्रमाणपत्रसहित कार्यक्रमको अवसरमा सम्मान गरियो ।

ग्रामीण क्षेत्रका नागरिकलाई सहजताका लागि भन्दै इकाई उद्घाटनसँगै शनिबार नै गाउँपालिकाले प्रजनन् स्वास्थ्य शिविर, अपाङ्ग तथा जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रमको आयोजना गरेको बकैया गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले बताए । शिविरबाट १ प्रसुतीसहित ६८ जनाले सेवा लिए ।

बकैया–१, का अध्यक्ष बुद्धिमान वाईबाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, शिक्षा संयोजक नारायणप्रसाद चापागाईं, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कविता भट्ट, स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेल, गाउँ कार्यपालिका सदस्य निर्मला राई, वडा सदस्य गोविन्द फयाँल लगायत उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here