कार्यक्रमलाई सम्बोधन गर्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान

शुभलक्ष्मी विश्वकर्मा/
हेटौंडाः फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन गर्ने तयारी गरिएको बागमती गोल्डकप फूटबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ । आज फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा आसन्न प्रतियोगिता तथा तयारीका सम्बन्धमा जानकारी दिइएको हो ।

बागमती गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको पुरस्कार राशी गतसाल भन्दा दोब्बर बनाइएको छ । यसपटक विजेताले नगद ६ लाख तथा उपविजेताले नगद ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । ६७ लाख ६५ हजार रुपैयाँ कूल अनुमानित लागत रहेको प्रतियोगितामा बागमती गाउँपालिका मुख्य प्रायोजक रहेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा म्यान अफ द म्याचले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, ५ विधाको विधागत रुपमा उत्कृष्ट हुनेलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । ग्रामीण क्षेत्रमा रहेका प्रतिभा उजागर गरी खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ विगतलाई निरन्तरता दिँदै प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले, ‘गाउँ घरमा लुकेर रहेका प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ यसलाई महत्व दिएका हौं, खेलकूदलाई प्राथमिकता दिई सबै स्थानीय तहलाई यहाँबाट सन्देश दिन खोजिएको छ’, भने । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।

प्रतियोगितामा विरगन्ज युनाईटेड, नवजागृती सिमरा, बागमती क्लब (सर्लाही), मकवानपुर ११ लगायतले खेल्ने बताएपनि ए डिभिजन क्लबहरुसँग भने समन्वय भईरहेको बताईएको छ । दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

प्रतियोगिताको प्रचार प्रसार, आर्थिक सहयोग संकलन लगायतका काम तीब्र पारिएको समितिका कोषाध्यक्ष बिरेन्द्र समालले जानकारी दिए । प्रचारप्रसार र दर्शकका लागि प्याराफिट निर्माण कार्य धमाधम भईरहेको छ । “प्याराफिट निर्माणको ९० प्रतिशत काम भईसकेको छ, अबको केही दिनमा प्याराफिट सकिन्छ”, उनले भने ।

समितिका सचिव भिम राईले गोल्डकप हेर्न आउने फुटबल प्रेमी दर्शकहरुलाई ब्यवस्थित रुपमा प्रतियोगिता हेर्ने ब्यवस्था मिलाउन अहिले प्याराफिट निर्माण र मैदान व्यवस्थापनको काम भइरहेको जानकारी दिए । २५ हजार जना दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको गोल्डकप हेर्नको लागि यतिबेला गाउँपालिकावासीले उत्साहका साथ प्रतीक्षा गरिरहेको भन्दै सबैले सहयोग गर्नको लागि समेत सचिव राइले आग्रह गरे ।

बागमती गाउँपालिका खेलकूद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको विषयमा आयोजकले पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष अरुण बल लामाको सभाध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष रहरसिं थिङ, समितिका सल्लाहकार किरण माझी, जनता माबिका प्राचार्य तथा बागमती गाउँपालिका खेलकुद विकास समितिका सल्लाहकार बसन्त राई, समितिका सचिव भिम राई, मनोज बल, विष्णु नेगी, सल्लाहकार शंकर कुमार पराजुली, इलाका प्रहरी कार्यालय फापरबारीका प्रतिनिधि, स्थानीय खेलप्रेमी एवम् खेलकूदको क्षेत्रमा क्रियाशील युवा लगायत उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here