हेटौंडाः स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेबीले चलचित्र कोपिलाबाट समाजमा उच्च शिक्षा मिल्ने बताएकी छन् । सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को आज शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो भएको हो ।
चलचित्रको विशेष प्रदर्शनीको सन्दर्भमा हेटौंडा आएकी उनले आफ्नो छोरीले जस्तो अरु छोरीहरुले बलत्कृत हुनु नपरोस् भनिन् । साथै उनले चलचित्रबाट महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। यस्तै कन्चनपुरबाटै आएकी महिला अधिकारकर्मी प्रेमपति रानाले पनि चलचित्रबाट आम समाजलाई सुसूचित गराउने भन्दै आम छोरीचेलीहरुलाई यस्ता घटनाबाट सजग बनाउने विचार व्यक्त गरिन् ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको चलचित्रको च्यारिटी शो मा उनकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्य सहित अन्य कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारेटी शो मा स्वर्गीय निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई आभारपत्र सहित नगद ५० हजार रुपैयाँ प्रदान गरिएको थियोे । पन्तलाई चलचित्रका निर्देशक शिवम् अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुबासराज काफ्ले र जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।
चलचित्रमा निर्मलाको भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन् भने सरिता गिरिले आमाको भुमिका निभाएकी छिन् । कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थीले स्व. निर्मला पन्तको कथालाई उठान गरेर चलचित्र बनाएकोमा निर्माण युनिटलाई आभार ब्यक्त गरे ।
कार्यक्रममा कलाकार निर्माता रमित ढुगाना, कृषा चौलागाईं, पत्रकार निर्देशक डब्बु क्षेत्री, निर्देशक गोबिन्द गौतम लगायतका संचारकर्मी तथा महिला अधिकारकर्मी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।