हेटौंडा,पुस २७
मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बन्ने भएको छ । यही पुस २८ गते सोमबारका दिन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको उपस्थितिमा घोषणा सभा हुने तयारी गरिएको शनिबार मनहरीमा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरीमा बालमैत्री स्थानीय शासनका ३९ वटा सूचकहरु पूरा गरी घोषणा सभाको आयोजना गरिएको बताए । ‘मुलुकभर रहेका ४६० गाउँपालिकामध्ये हामी पहिलो लहरमा उभिँदैछौं, यसलाई महत्व दिई हामीले छिटो तयारी गरेर आज यो सम्भव भएको हो’, अध्यक्ष उप्रेतीले भने ।

घोषणाका लागि भएका पहलहरु स्मरण गर्दै अध्यक्ष उप्रेतीले घोषणापछि पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । घोषणा सभासँगै त्यसपछिका योजना पनि तयार पारिएको र पालिकालाई साँच्चिकै बालमैत्री बनाउने योजनाका साथ अघि बढिएको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले बताइन् । मनहरीलाई बालमैत्री गाउँपालिका बनाउन स्थानीय स्तरमा बालक्लब, सञ्जाल, वडा कार्यालयहरु, जनप्रतिनिधि, स्थानीय संघ संस्था तथा अभियन्ता, सहजकर्ताहरुको साथ लिइ अघि बढिएको उपाध्यक्ष विष्टले जानकारी दिइन् । ‘यो सुरुवात मात्र हो, उनले भनिन्, यसपछि अझ तीब्र गतिमा पालिकालाई बालमैत्री बनाउने कार्यक्रम अघि बढ्नेछन्, बालमैत्रीको विषय हाम्रा हरेक बैठकका ऐजेण्डा बन्नेछन् ।’ कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणा किन? भन्ने सन्दर्भमा राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौबेले स्पष्ट गराएका थिए ।

संविधानमा व्यवस्था भए अनुसार बालबालिकाको अधिकार स्वरुप यो कार्यक्रम जरुरी रहेको उनको भनाई छ । साथै, राजनीतिक, आर्थिक र सामाजिक कारणले पनि बालमैत्री स्थानीय शासन घोषणा गर्नुपर्ने उनी बताउँछन् । बालमैत्री स्थानीय शासन घोषणासँगै स्थानीय सरकारले गर्नुपर्ने ३५८ दायित्वमध्ये २६४ दायित्व पूरा हुने अभियन्ता चौबेको दावी छ । गाउँपालिका तथा ३ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा घोषणा सभा हुन लागेको हो । कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, बाल सञ्जालका प्रतिनिधि लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here