हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढीमा माटो परीक्षण प्रयोगशाला स्थापना भएको छ । कस्तो माटोमा कुन खेतिपाती राम्रो हुन्छ भन्ने जानकारीका लागि उपयोगी हुने भएकोले प्रयोगशाला किसानका लागि महत्वपूर्ण हुने आंकलन गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले यसलाई उपयोग गर्न आग्रह गरे । व्यवसायिक खेतितर्फ लाग्न युवा वर्गमा अनुरोध गर्दै मन्त्री लामाले प्रयोगशालाको सदुपयोग गर्न आग्रह गरेका हुन् । प्रदेश ३ ले आगामी वर्षहरुमा १ सय १९ वटै स्थानीय तहहरुमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी काम गर्ने उनले बताए ।

यस वर्ष यस मकवानपुरगढी गाउँपालिकासहित चितवनको खैरहनी नगरपालिका, नुवाकोटको विदुर नगरपालिका, काभ्रेको पाँचखाल नगरपालिका र धादिङको सिद्धलेक गाउँपालिकालाई साझेदारी पत्र दिएर प्रयोगशालाको सुरु गर्न प्रदेश सरकारले लगाए मन्त्री लामाले जानकारी दिए ।

प्रयोगशाला उद्घाटन पछि माटो परीक्षण विज्ञ गणेश शाह र कृषि शाखा मकवानपुरगढी गाउँपालिकाका प्रमुख चन्द्रकान्त चौधरीले प्रयोगशालामा भएका मेशिनरी औजारको बारेमा मन्त्री लामालाई जानकारी गराएका थिए ।

६ नं. वडा अध्यक्ष टिका प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री लामा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव डा. योगेन्द्र कार्की, गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष हर्कमाया रुम्बा, माटो परीक्षण विज्ञ गणेश शाह, गढीका वडा १ अध्यक्ष आईत सिं लो, २ नं. वडाका अध्यक्ष बखान सिंह पाख्रीन, ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना, वडा ५ का अध्यक्ष जीतबहादुर घिमिरे, पालिकाका प्रशासकीय प्रमुख राम प्रसाद पुडासैनी, कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरी, महिला तथा बालबालिका शाखाका प्रमुख मन्दिरा थापा लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा व्यवसायिक पशुपालन र खेती गर्ने, उत्कृष्ट शेयर सदस्य, बचत कर्ता, ऋणी र बाल बचत कर्तालाई पनि सम्मान गरिएको थियो ।