हेटौंडाः मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’को विशेष च्यारेटी शो आयोजना गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।

आगामी माघ १० गते हेटौंडाको एनएस सिनेमा हलमा चलचित्रको च्यारेटी शो आयोजना हुने मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोईरालाले च्यारेटी मार्फत उठेको रकमबाट स्व. निर्मला पन्तको परिबारलाई ५० हजार सहयोग गरिने जानकारी दिए । च्यारेटी शो का दिन निर्मलाको परिवारलाई हेटौंडामा बोलाएर रकम हस्तान्तरण गर्ने जनाइएको छ । यसअघि गत वर्ष पञ्चायत चलचित्रको च्यारेटी गरेर सामाजिक कार्य गरिएकोमा यसवर्ष चलचित्रको प्रदर्शनीबाट उठेको रकमबाट सामाजिक क्षेत्रमा सहयोग गरिने भएको हो । च्यारेटी शो कार्यक्रममा चलचित्रका कलाकारहरुको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा चलचित्र ‘कोपीला’ बनेको चलचित्रका निर्माता मणिराज गौतमले बताए । चलचित्रलाई पहिलो पटक च्यारेटी मार्फत दर्शकहरुबीच ल्याउन लागिएको निर्माता गौतमले बताए । सामाजिक कथावस्तुमा बनेको चलचित्रलाई स्व. निर्मला पन्तको परिवारसँग अनुमति लिएर निर्माण गरिएको निर्माण पक्षको दावी छ ।
चलचित्रमा स्व. निर्मलालाई ‘कोपीला’को पात्रमा राखिएको छ भने ‘कोपीला’को भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन् । चलचित्रमा संजिवनीसँगै गणेश गिरी, सरिता गिरी, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गणेश गिरीको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन् । दिपक शर्माको संगीत रहेको चलचित्रलाई शिष्म अधिकारीले निर्देशन गरेका छन् । यस अघि अधिकारीले पंचायत चलचित्र निर्देशन गरेका थिए । फिल्ममा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेश गरिएको छ निर्माता एवम् संचारकर्मी मणिराज गौतमले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here