हेटौंडा पुस २४
नेकपा संसदीय दलको बैठक आज हेटौँडामा बस्दै छ । बैठकले प्रदेशको राजधानी र नामाकरणलाई सर्वसंवत ढंगबाट टुंगो लगाउने निर्णय गर्ने नेकपा प्रदेश ३ को संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले बताए । उनले भने “आज हुने संसदीय दलको बैठकले केन्द्रीय पार्टीको निर्देशनलाई आत्मसाथ गर्दै प्रदेशको राजधानी र नामको विषयमा निर्णय गर्नेछ ।”

नेकपाले सहमतिको आधारबाटै राजधानी र नामको विषय टुंगोमा पुग्छ भन्ने विश्वासको साथमा नियमित बैठक बसेर राजधानी र नामाकरणको विषयमा गहन छलफल गरेको उनले बताए । राजधानी र नामको विषयमा गएको शुक्रबारबाट हेटौँडामा जारी संसदीय दलको बैठकले निर्णय गर्न नसक्दा नेकपा केन्द्रीय सचिवालयले दोश्रो पटक पनि असन्तुष्ट नेताहरु बोलाएर राजधानी हेटौँडालाई तोक्न र नाम वागमती राख्न निर्देशन दिएपछि बिहिबार बस्न लागेको बैठक महत्वपुर्ण रहेको छ । राजधानी अपाएक भयो भन्दै नेकपा नेतृ तथा प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्य, नेकपा नेताहरु तथा प्रदेशसभा सांसद पशुपति चौँलागाई, राजेन्द्र पाण्डे लगाएतको टोलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल सहितका शिर्ष नेताहरुसँग भेट गरेका थिए ।

भेटमा शिर्ष नेताहरुले सचिवालको निर्णयबाट “ब्याक” नहुने बताएपछि उनीहरु हेटौँडा फर्किसकेका छन् । हिजैबाट प्रदेशसभामा पनि राजधानीको विषयले प्रवेश पाएको छ । राजधानी सांभाब्यता समितिका सभापति दिपक निरौलाले पेश गरेको पाँच जिल्लाको प्रतिवेदनमाथि सांसदहरुले बोल्ने क्रम सुरु भएको छ ।