हेटौंडाः मकवानपुरे समाज काठमाडौंले बकैया गाउँपालिका–१२ स्थित सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई सुइटर प्रदान गरेको छ । सोही अवसरमा रोज बहिनी किशोरी समुह काठमाडौंले कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरेको छ ।

बकैया गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष अरुण गुरुङ, बकैया गाउँ शिक्षा समिति सदस्य हरिहर खनाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, गोरक्षेश्वर क्षेत्र विकास समितिका वरिष्ठ उपाध्यक्ष विजेन्द्र अग्रवाल, हेटौंडा लेडि जेसीजका शाखा अध्यक्ष सुशीला पौडेल, समाजसेवी सुनिल गिरी, मकवानपुरे समाज महिला समिति संयोजक सरिता कार्की, महिला समिति सदस्य सविना गौतम, हेम लामा लगायतको उपस्थित थिए ।

आर्थिक रुपले विपन्न विद्यार्थीहरू अध्ययनरत सो विद्यालयमा चिसो मौसममा पनि साधारण एक सरो विद्यालय पोशाकको भरमा बालबालिका विद्यालय आउने र त्यसले गर्दा पठनपाठनमा समेत प्रभाव पर्ने भएकाले न्यानो लुगाको माग गर्नु परेको विद्यालयका शिक्षक भावना सापकोटाले जानकारी गराइन् ।

मकवानपुरमा जन्मेर काठमाडौंलाई आफ्नो कार्यक्षेत्र बनाइरहेका संस्थाका अध्यक्ष अरुण गुरुङले देशका विभिन्न स्थानमा आफ्नो समुहले काम गरेको भएपनि देशका भविष्य निर्माता विद्यार्थीका लागि आफ्नो जन्मभूमिमा आएर सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । उनले आगामी दिनहरुमा पनि यसैगरी अन्य स्थानमा सहयोग गर्नका लागि संस्था प्रतिबद्ध रहेको जानकारी जानकारी गराए ।

विद्यालयका शिक्षक नरेन्द्र रेग्मीले स्वागत मन्तव्यमार्फत कार्यक्रमका सहभागीहरुलाई स्वागत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मान बहादुर स्याङ्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले धन्यवाद ज्ञापन गरे । विद्यालयमा रोज बहिनी किशोरी समूह गठन गरी सेनेटरी प्याड प्रयोग र त्यसको व्यवस्थापनका सम्बन्धमा जानकारी समेत गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here