हेटौंडाः मकवानपुर बुहुमुखी क्याम्पसले गरेको शुल्क बृद्धिको विरोध गर्दै विद्यार्थीहरु तीन दिनदेखि रिले अनसमा छन् । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेसँगै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

एकै पटक ६५ प्रतिशतसम्म मासिक शुल्क बृद्धि गरेर विद्यार्थीलाई मार पारेको भन्दै क्याम्पसको लेखा समितिले तत्काल शुल्क घटाउनका लागि क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रशासनलाई लिखित निर्देशन दिएपनि विद्यार्थीले अनसन जारी राखेका हुन् । बृद्धि भएको शुल्क नघटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी विद्यार्थीले दिएका छन् ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियु, नेविसंघ, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले क्याम्पसमा आन्दोलन चर्काएका हुन् । स्ववियुको नेतृत्वमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा मंगलबारबाट रिले अनशन सुरु गरेका थिए । ६५ प्रतिशतसम्म बृद्धि गरिएको शुल्क ३० प्रशितमा कायम गर्नका लागि लेखा समितिले निर्देशन दिएको हो । तर, विद्यार्थीहरु शुल्क बृद्धि फिर्ता लिनुपर्ने अडानमा छन् ।

अनसन बसेको तीन दिन भइसक्दा पनि शुल्क फिर्ता लिनका लागि क्याम्पस तयार नभएको क्याम्पसका स्ववियु सभापति कुमार केसीले बताए । क्याम्पस सञ्चालक समितिको बैठकले मासिक शुल्कमा ६५ प्रतिशत र भर्नामा सय प्रतिशत शुल्क वृद्धि गरेको छ । प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेसँगै विद्यार्थी आन्दोलित भएका हुन्।

क्याम्पसको निर्णयले ४ हजारभन्दा बढी विद्यार्थीलाई असर गर्नेछ । ७ वर्षदेखि शुल्क वृद्धि नगर्दा क्याम्पस घाटामा सञ्चालन भइरहेको भन्दै समितिले शुल्कवृद्धि गरेको जनाइएको छ । क्याम्पस वार्षिक रुपमा ४ करोड २० लाख घाटामा सञ्चालन भएको समितिको दाबी छ । विद्यार्थी संगठनले क्याम्पस घाटा रहेको नाममा विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क वृद्धि निर्णय मान्य नहुने भन्दै आन्दोलनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here