हेटौंडाः भूपि शेरचनको ८५औं जन्म दिवसको उपलक्ष्यमा आज शनिबार हेटौंडामा भूपि स्मरणको औचित्यबारे परिचर्चा कार्यक्रम भएको छ । कार्यक्रमका वक्ताहरुले भूपिलाई विवादास्पद व्यक्तित्वका रुपमा व्याख्या गरेका छन् ।
भूपिको व्यक्तित्व तथा कृतिबारे चर्चा गर्दै समालोचाक घनश्याम घिमिरेले भूपिबाट धेरै कुरा सिक्न सकिने बताए । आफ्नो कृतिमा प्रगतिशील रहेर पनि पछिल्ला दिनहरुमा उनको विचारमा विचलन आएको भन्दै समालोचक घिमिरेले वैचारिक विचलनसँगै भूपिको सृजनात्मकतामा पनि कमी आएको उल्लेख गरे ।
उर्जाशील जीवनकालमा प्रगतिशील विचार प्रधान कृति सृजना गरेर जीवनको उत्तराद्र्धमा आफ्नो विगत नै गलत थियो भन्ने मान्यता विकास हुनुले पनि भूपि विवादास्पद व्यक्तित्व बनेको साहित्यकार सुवास खनालले बताए । ‘मानिसलाई कृतिगत हिसाबले मूल्यांकन गर्नुपर्ने हो वा उसको जीवनको पाटोलाई हेरेर?’, साहित्यकार खनालले प्रश्न गरे ।
विचारमा विचलन आएपनि उनका सृजनामा भने प्रगतिशील धार नै कायम रहेको कतिपय वक्ताको बुझाई थियो । कृतिको हिसाबमा भूपि प्रगतिशील रहेपनि कुनै समय उनी राजाको पक्षमा हिँडेको बारे कार्यक्रमका वक्ताहरुले टिप्पणी गरे । सोही कारण कुनै पक्षले पनि भूपिलाई आफ्नो नसम्झिएको कतिपय साहित्यकारले बताए ।
प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा परिचर्चा कार्यक्रम भएको हो । संघकी अध्यक्ष शान्तिप्रिय बन्दनाको सभाध्यक्षता तथा प्रगतिशील साहित्यकार एवम् पत्रकार नवराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकार निमेष निखिल, निरा शर्मा, उमाकान्त आचार्य, डिबी बर्तौला, सम्राट तुम्बाहाम्फे लगायतले भूमिका रचना वाचन गर्दै उनको व्यक्तित्व तथा कृतिबारे टिप्पणी गरेका थिए ।