हेटौंडा,२९ मंसीरः मकवानपुर बहुमुखी क्याम्पसमा सञ्चालन भएको तेस्रो ‘बिबिए/बिबिएम कप’को उपाधि सातौं सेमेस्टरले जितेको छ । फाइनलमा बिबिएम तेस्रो सेमेस्टरसँग भिडेको बिबिएम सातौं सेमेस्टरले ५ गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

आज भएको फाइनल खेलमा बिबिएम तेस्रो सेमेस्टारले विपक्षी टिमलाई १ गोल मात्र फर्काउन सक्यो र उपविजेतामै चित्त बुझाउन पर्यो । प्रतियोगितामा सातौं सेमेस्टरका अंकित पराजुली ‘बेस्ट किपर’ भए भने तेस्रो सेमेस्टरका मुकेश चौधरीले ‘बेस्ट डिफेन्डर’को पुरस्कार पाए ।

सातौं सेमेस्टरका सोमेत क्षेत्री उत्कृष्ट खेलाडी बन्न सफल हुँदा सातौं सेमेस्टरकै गौरव गौतम सर्वोत्कृष्ट गोलकर्ता बने । तेस्रो सेमेस्टरका सागर लामिछानेले ‘इमर्जिङ प्लेयर’को पुरस्कार हात पार्न सफल भए ।

त्यस्तै, व्याडमिन्टनतर्फ बिबिए तेस्रो सेमेस्टरकी सुस्मीता श्रेष्ठ विजेता बनिन् । बिबिए तेस्रो सेमेस्टरकै प्रज्ञा सापकोटा व्याडमिन्टन प्रतियोगिताको उपविजेता भइन्, भने बिबिएम फस्ट सेमेस्टरकी जेसिका कार्कीले तेस्रो पुरस्कार हात पारिन् ।

प्रतियोगिता अन्तर्गत भएका दुबै खेलको बिजेताहरुलाई क्याम्पस प्रमुख डा. शंकर उपाध्याय लगायतका अतिथिहरुले शिल्ड, प्रमाणपत्र तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।

शुक्रबारदेखि सञ्चालन भएको ‘बिबिए/बिबिएम कप’ अन्तर्गत फूटबल र व्याडमिन्टन खेल भएको कार्यक्रम उपसंयोजक तथा बिबिएम तेस्रो सेमेस्टरका क्याप्टेन सिद्धान्त पुडासैनीले जानकारी दिए ।

मकवानपुर बहुमुखी क्याम्पस बिबिए/बिबिएम परिवारले आयोजना गरेको कार्यक्रमलाई क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सहयोग गरेको हो । विद्यार्थीलाई रचनात्मक कार्यका साथै व्यवहारिकतामा जोड दिन कार्यक्रम आयोजना गरिएको मकवानपुर बहुमुखी क्याम्पसका बिबिए/बिबिएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिए ।

क्याम्पसको बिबिएरबिबिएम कार्यक्रम अन्तर्गत २६० जना विद्यार्थी अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here