शुभलक्ष्मी प्रभा/मकवानपुर-
बिहान उठेर यस्सो लिपपोत गर्ने
अलिकति पानी उमाल्ने
कराहीमा गाइलाई
ताप्केमा परिवारलाई
सबैको पेट तातो गराउने
र, खाजाको जोहो गरिदिएर
सबैको पेट भराउने
बिहान सात बजेसम्म यत्ति नै हो
केही गर्दिनँ म

भैंसी दुहुने, घाँस दिने
करेसाको खेतीमा थोरै पानी
खेतीबालीमा गोडमेल अनि
त्यही भातभान्छा त हो
केही गर्दिनँ म

कहिलेकाहीँ मेलापात
कहिले गोठाला
जाडो हुँदा चिसो
गर्मी हुँदा तातो
खाजापानी बनाउने
त्यही त हो
केही गर्दिनँ म

बच्चालाई चुसाउने
परिवारलाई रिझाउने
सबैको चित्त बुझाउने
अतिकति सरसफाई
अलिकति सेवा
यत्ति त हो
केही गर्दिनँ म

बच्चाहरु सोध्छन्,–
मोजा खोइ?
टाइ कता छ?
उनीहरुका बाबु
बच्चाको प्रगति कस्तो छ?
यी र यस्ता प्रश्नहरुको
साफ साफ जवाफ दिने
त्यत्ति नै त हो
केही गर्दिनँ म

बिहान–बेलुकी भाँडा माझ्नु
नबिराइ चार पटक पकाउनु
घरका सबैको चित्त बुझाउनु
रिसाउने, घुक्र्याउनेलाई फकाउनु
यत्ति त हो
केही गर्दिनँ म

बिहान ५ बजेदेखि
बेलुकी ११ बजेसम्म
नबिराई दैनिक १८ घण्टा चलमलाइदिने
मेरा हातखुट्टा र मस्तिष्क
नाकाम त्यतिबेला लाग्यो
जब थाहा पाएँ,
केही गर्दिनँ म

जब उहाँलाई कसैले सोध्यो
भाउजु के गर्नुहुन्छ?
उहाँले सजिलै भनिदिनुभयो
र, मैले बुझिहालेँ कि,
केही गर्दिनँ म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here