हेटौडा,७ मंसीर । १६१ औं गजल यात्रामा सुस्केरा परिवारको विशेष प्रस्तुति हेटौंडा– गजल मञ्च मकवानपुरको आयोजनामा हरेक महिनाको पहिलो शनिबार हुँदै आएको गजल यात्राको १ सय ६१ औं शृङ्खला शनिबार हेटौंडामा सम्पन्न भएको छ ।
हेटौंडा–५ भैरवरोडस्थित साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा एक दर्जनभन्दा बढी गजलकारले गजल गायन तथा बाचन गरेका थिए । सुस्केरा परिवार हेटौंडाले गजल गायनको विशेष प्रस्तुति दिएको थियो । मञ्चका उपाध्यक्ष सीएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजलकार तुलसी घिमिरे, सुनिल गौतम, डीबी वर्तौला, बगेकी गंगा, प्रसिद्धि बख्रेल, मनिषा खड्का, प्रदिप पराजुलीलगायतले गजल बाचन गरेका थिए । त्यस्तै सुस्केरा परिवारको तर्फबाट राम कार्कीको संयोजकत्वमा यादव श्रेष्ठ, ईश्वर खड्का र उत्तरकुमार दुलालले बाद्यबाधनसहित गजल गाएका थिए । आगामी शृङ्खलादेखि सुस्केरा परिवारको नियमित प्रस्तुति समावेश गरिने मञ्चका सचिव केशव समर्पणले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here