काठमाण्डौ – एसियाली विकास बैंक (एडीबी) ले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएको जनाएको छ । 

बैंकले बुधबार काठमाण्डौमा आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समीक्षामा एसियाली विकास बैंकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन् ।  

समीक्षा बैठकमा एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडीबी सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्नतर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गर्नुभयो । 

सरकारले कतिपय परियोजनामा पर्याप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलरदेखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पूरा हुन नसकेको उहाँले बताउनुभयो । परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले प्रस्ट पार्नुभयो । 

एडीबीले अहिलेसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन । एसियाली विकास बैंकले सन् २०१९ को १० महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।