हेटौडा । गएको शुक्रबारदेखि नेपाली कृतिमा आधारित चलचित्र जीवन काँडा कि फूल प्रदर्शनमा आएको छ ।

चलचित्रमा झमक घिमिरेको रुपमा रोजिता बुद्धाचार्य तथा उनका बावु र बहिनीका रुपमा क्रमश किसान सुनार र सारिका घिमिरेले अभिनय गरेका छन् ।

‘अहिलेसम्म झण्डै आधा दर्जन चलचित्रमा अभिनय गरेँ’ किसान भन्छन्, ‘तीमध्ये ऐतिहासिक र जीवन्त यो चलचित्र हुन्छ जस्तो लागेको छ जुन भूमिका मैले निर्वाह गरेको छु त्यो जो कोहीले अभिनयको अवसर पनि पाउँदैन ।’
निकै संघर्षपूर्ण जीवन बाँचेकी घिमिरेको पहिलो र सफल कृति ‘जीवन काँडा की फूल’नामबाटै निर्माण भएको यो चलचित्र बिनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन् ।

किसान यो चलचित्रमा झमक घिमिरेको बुवाको भूमिकामा छन् जो आफ्नी छोरीका लागि भगवान सरह हुन्छन् । तर उनी छोरीको शारीरिक अपाङ्गताका कारण निर्दयी बन्न बाध्य छन् ।

‘खाइलाग्दो ज्यान घटाएर बाबु बन्नु सजिलो थिएन’, किसान आफ्नो भूमिकालाई प्रष्टयाउँदै भन्छन्, ‘त्यसमाथि अप्रिय शब्द बोल्नुपर्ने, रुखो व्यवहारदेखि छोरीको उपचारका लागि गर्नुपर्ने सबै प्रयास गर्नुपर्ने थियो । चलचित्रमा झमकको बुवाको भूमिकालाई धेरै मेहनत गरेर न्याय गर्ने कोसिस गरेको छु ।’

चलचित्रमा झमक सानो छँदाको भूूमिकालाई भारत सिलिगुडीकी अवस्था थापाले निर्वाह गरेकी छन् । चलचित्रको पोष्टरमा समेत अवस्थाकै तस्बिर छ । जसले झमक सानो हुँदाको हुबहु अभिनय गरेको भन्दै धेरैले प्रशंसा पनि गरेका छन् ।
यस्तै झमक ठूलो भएपछिको भूमिकामा काठमाण्डौकी रोजिता बुद्धाचार्य छिन् । झमकले सानोमा क ख रा लेख्न सिकेको र ठूलो भएपछि पुस्तक लेख्दाको अवस्था चलचित्रको सबैभन्दा बलियो पक्ष मानिएको छ ।