अपील/ हजारौं आँखाले हजारौं सालदेखि
बगाउनै नसकेर बोकिआएका
सुस्केराहरु देखेका मेरा आँखा
कसरी सीमित हुन सक्छन् र
कुनै एकजोडा आँखाको मातमा ?
कतिन्जेल भैरहन सक्छन् केवल मदहोस् ?

तिमीले आँखाको बिर्को उघारेर
पोखिदिएको एक पेग वाइन पिएर
कति समय रहन सक्छु र म झ्याप् ?

बन्द गर तिम्रो परेला
डुब्नै परे पनि मलाई पर्याप्त हुन्नन्
तिम्रो निजी आँसुको आहाल
बस्नै परे पनि मलाई साँघुरो लाग्नेछन्
तिम्रो आँखाको साँघुरो बगैंचा !

बन्द गर तिम्रो ओठको लिपस्टिक हाँसो
मलाई रातो फुल्न पुग्दैन त्यतिले !

तिम्रो आँखाको नशा त्यति बलियो कहाँ
जसले अनेकौं आँखाका तप्किरहने
छेउकुना बिर्सन सम्मोहित गरिराखोस् ?

आँखाहरु हृदयको अन्तिम छेको हुन्
स्वयम् हृदय हैनन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here