निशा लामा/ बिहान सबेरै उठ्छु । तैपनि आफ्नो कार्यालयमा पुग्दा जहिल्यै ढिला हुन्छ । “हैन, आज ढिला भयो– अब भोली अलिक छिटो उठ्छु” भनी फेरी बिहान ५ बजे नै उठ्छु । तर पनि त्यस्तै नै हुन्छ । म घरको काम गर्न ढिला हो कि भन्ने ठान्छु । तर जति छिटो गरेता पनि बिहान त स्वास फेर्ने फुर्सद पनि पाउँदिन ।

घरमा बाबु र म मात्र बस्छु । बाबुलाई होमवर्क गराउँदा नै मेरो पारा तातिसकेको हुन्छ । भनेको कुरा मरे मान्दैन । बिहानभरी कराउँदा कराउँदै म त कहिले त ‘पागल पो भएँ कि’, जस्तो लाग्छ । खाना बनाउँदै बाबुलाई पढाउन बस्छु । कहिले त भुसुक्कै बिर्सन्छु कि, मैले खाना पनि पकाएको छु भनेर । यसो हेर्न जाँदा तरकारी कराहीमा डढेर कालै भएको हुन्छ । ‘थुक्क हुस्सु कस्ती बिर्सेकी!’ भनेर रिसले कराही नै मिल्काउँ जस्तो लाग्छ । तर के गर्नु, बेलुका त खाना खानै पर्यो । फेरी बाबुलाई गाली गर्दै डढेको तरकारीलाई मिल्काई भुक्लुक्क गुन्द्रुक र आलुको तरकारी बनाई हतार हतार खाना खान बस्छु । फेरी बाबुले ‘गुन्द्रुकको तरकारी खान्नँ’, भन्छ । के गर्नु- उपाय केही छैन । ‘अब ढिला भईसक्यो, अरु के तरकारी बनाउनु’ भनी उसलाई सम्झाउछु र अलिकति घ्यु हाली हतार हतार माम मुछी उसलाई खाना दिन्छु र आफु पनि खान बस्छु । खाना खाएपछि भाँडा माझ्नै पर्यो । कहिले त लाग्छ कि- भाँडा माझ्न नपरे अलिकति भए पनि समय बच्थ्यो भनेर । तर यसको कुनै उपय नै छैन ।

अब बाबुलाई स्कूल लैजानका लागि उसलाई ड्रेस लगाउन हतार गर्छु । उ फेरी ल्याङ्ग ल्याङ्ग गरिरहन्छ । पारा तात्छ । पिट्नका लागि हात उठ्छ । फेरी आफुले आफुलाई सम्हाल्छु । बच्चालाई पिट्न हुन्न भनी । त्यसपछि “छिटो गर” भनी गाली गर्छु । उसलाई तयार गर्दै आफु पनि अफिस जानका लागि तयार हुन्छु । कहिले त यस्तो बिर्सन्छु कि, कपालको माथि काइँयो राखी सारा खोज्दा पनि भेट्दिनँ । रिसले अब कपाल नै नकोरी अफिस जान्छु भनी तयार हुन्छु । कसरी कसरी हात टाउको माथि पुग्छ । अनि, टाउको माथि काइँयो भेटिन्छ । अनि आफुले आफैलाई सराप्दै कपाल कोर्छु ।

कहिले त लाग्छ, ‘जिन्दगी नै यसरी नै बित्छ कि के हो ?’ आफ्नो लागि सोच्ने समय नै हुँदैन । त्यही बेला मोबाईलको घण्टी टिरिङ… टिरिङ… बज्छ । आफुलाई फोन उठाउने फुर्सद पनि हुँदैन । बाबुलाई “कस्ले फोन गरेको हो हेर त भन्छु बाबु” भन्छु । “मामु यो त ९८४……..”, भन्दै उसले जवाफ दिन्छ । “होस बाबु अहिले छोड्देउ, म पछि कल गर्छु”, भन्छु । “अहिले तिमि छिटो जुत्ता लगाउ”, भन्छु । जुत्ता त लगाउँछ, आफै जुत्ताको लेस बाँध्न उसलाई आउँदैन । उ लेस कुल्चिँदै हिलो बनाउँछ । यति रिस उठ्छ, उठेर पनि के गर्नु ! कहिले सोँच्छु कि- यो लेस पनि किन बनाको होला भनी । अब अर्काे जुत्ता किन्दा लेस नै नभएको किन्छु भन्दै भट्भटाउँदै लेस बाँध्छु र हतार हतार स्कुटी स्टार्ट गरी बाबुलाई स्कुल छोडेर आफू पनि अफिसतिर जान्छु ।

दिनभरी अफिसको काम गर्छु । कहिलेकाहीँ फिल्डको काममा बाहिर पनि जान्छु । जब ३ बज्छ । अनि फेरी तनाब हुन थाल्छ । बाबुलाई स्कूल लिन जानका लागि । स्कुलबाट लिएर अफिसमा नै राख्छु । के गर्नु मेरो बाध्यता छ । घरमा कोही पनि छैन । बच्चा हेर्नका लागि भन्दै साथीहरुसँग आफ्नो दुखेसोको कुरा गर्छु । बाबु आएपछि फेरी होमवर्क गर भनी गाली गर्छु । उ मान्दैन । म कराउँदै बस्छु । यसरी नै मेरो दिनचार्य बित्छ ।

न त साथीभाईसँग कुरा गर्ने फुर्सद । न त घुम्ने फुर्सद नै । फेरी बेलुका हुन्छ, हतार-हतार घर जान्छु । बाबुले सेतो सर्ट पुरै कालो बनाएको हुन्छ । स्कुलले पनि किन सेतो सर्ट राखेको होला । “अरु नै राखेको भएपनि दिन कै कपडा त धुन पर्दैन थियो”, भन्दै हतार हतार कपडा धुन्छु । अनि फेरी उसलाई पढाउन बस्छु । बेलुकाको खाना बनाउँदै बाबुलाई पढाउँछु । कहिलेकाहीँ त अल्छी लाग्छ । पकाउन्नँ पनि । “तिमी चिउरा र दुध खाउ है”, भन्छु । बाबु पनि मान्छ । उसलाई खुवाएर सुताउँछु । आफु पनि पल्टिन्छु । मनमा विभिन्न कुरा सोच्दै भुसुक्क निदाएको थाहा नै हुँदैन ।

प्रतिक्रियाका लागि: Nisha Lama nishalama47@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here