हेटौंडा,२७ कात्तिकः मकवानपुर जिल्लामा रहेको नारी साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले यसवर्ष प्रदान गरिने ५ वटा सम्मान तथा पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।

पुञ्जले बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ बाट काठमाडौंकी समाचालोक/कवि डा. विन्दु शर्मालाई सम्मानित गर्ने भएको छ । समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको यस सम्मान रु. १०,००१ राशीको रहेको छ । यसअघि यो सम्मान मकवानपुरकी कवि प्रतिमा पाठक र साहित्यकार रुकु कार्कीले प्राप्त गरेका थिए ।

त्यस्तै, आँचलले प्रतिभा घिताल छन्द पुरस्कार–२०७६ बाट तनहुँकी प्रभा भट्टराईलाई पुरस्कृत गर्ने भएको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको यस पुरस्कार रु १०,००१ राशीको रहेको छ । छन्दमा कलम चलाउने नारी साहित्यकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिने बताइएको छ । महाकाव्यकार बुनु लामिछाने यस पुरस्कारबाट पहिलोपटक पुरस्कृत भएकी थिइन् ।

त्यसैगरी ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०७६ बाट मकवानपुरका अग्रज पत्रकार नवराज शर्मा पुरस्कृत हुने भएका छन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गरेको यस पुरस्कारको राशी रु. ५,५५५ रहेको छ । २०७५ सालमा स्थापना भएको यो सम्मान पहिलो पटक बरिष्ठ पत्रकार कौशल पाण्डेले प्राप्त गरेका थिए ।

आँचलले टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ बाट ललितपुर इमाडोल निवासी कथाकार/बालकथाकार/कवि ललिता दोषीलाई पुरस्कृत गर्ने भएको छ । साहित्यकार रुकु कार्कीलगायत उहाँको बहिनीहरु प्रमिला शर्मा, अम्बिका उप्रेति, अन्जु उप्रतिले आफ्ना स्वर्गीय पिता तथा माताद्वयको नाममा स्थापना गरेको यस पुरस्कारको राशी रु. ११,१११ रहेको छ । साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मान पहिलोपटक दिन लागिएको हो ।

त्यसैगरी अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ बाट मकवानपुर जिल्लामा रही साहित्यको क्षेत्रमा लामो इतिहास बनाएका आरसी रिजाल सम्मानित हुने भएका छन् । पुञ्जकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५सम्म अध्यक्षको कार्यभार सम्हालेकी स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना गरेको यो पुरस्कार रु. १५,००१ राशीको रहेको छ ।

आँचल साहित्य कला पुञ्जको वार्षिकोत्सवको अवसरमा आगामी मंसिर २१ गते विशेष साहित्यिक कार्यक्रमका बीच सो सम्मान तथा पुरस्कार प्रदान गरिने आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । २०६९ सालमा स्थापना भएको आँचलमा ७० जनाभन्दा बढी सदस्य रहेको बताइएको छ ।

पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आँचलका संस्थापक अध्यक्ष मुना अर्याल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, आँचलकी सचिव भावना सापकोटा लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here