सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लामा

हेटौंडाः लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेकोमा देशभर विरोध भइरहँदा हेटौंडामा पनि सयौं विद्यार्थी भारतको विरोध गर्दै सडकमा उत्रिएका छन् । विद्यार्थीहरुले आज सडकमा उत्रिएर ‘गो व्याक इण्डिया’को नारा लगाएका हुन् ।

भारतले नेपाली भुभागमाथि अतिक्रमण गरेको भन्दै अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले आज विहान हेटौंडामा विरोध प्रर्दशन गरेका हुन् । हेटौंडा क्याम्पस साथै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु सडकमा निस्किएर ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडा बजारका विभिन्न क्षेत्र परिक्रममा गरेका थिए ।

विद्यार्थीहरुले भारतीय विस्तारवाद, हेपाह प्रवृत्ति तथा अतिक्रमणकारी रबैयाप्रति विरोध जनाउँदै तत्काल नक्सा सच्याउन सचेत गराए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)मा आवद्ध विद्यार्थीहरुले आज र्याली तथा कोणसभा आयोजना गरी विरोध प्रदर्शन गरेका छन् ।

‘गो व्याक इण्डिया’, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिँदैन–नेपाली भूमि मिच्न पाईंदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाउँदै मकवानपुर बहुमुखी क्याम्पसबाट शुरु भएको र्याली मानसचोक हुँदै बजारको विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रीय सदस्य पविना लामाले आफ्नो देशको भूमि फिर्ता ल्याउने दायित्व युवा वर्गको रहेको भन्दै त्यसका लागि युवा विद्यार्थीहरु तयार रहेको बताइन् । सरकारले आफ्नो भूमि फिर्ता ल्याउन पहल गरिसकेको भन्दै उनले देश रक्षाका लागि आवश्यक परे सीमा क्षेत्रमा गएर हस्तक्षेप गर्न पनि युवाहरु पछि नपर्ने उनले बताइन् ।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले भारतले असल छिमेकीको भूमिका निभाउन छोडेर नेपालप्रति गरेको व्यवहार अब सैह्य नहुने चनेतावनी दिए । भारत पागल बनोबृत्ति भएको छिमेकीका रुपमा देखा परेको टिप्पणी गर्दै उनले भारतको हरेक रबैयामा कडा जवाफ दिन युवा तयार रहेको बताए । साथै, उनले नेपाली युवाहरुको जोश भारतको विरुद्ध प्रयोग गर्न बाध्य नपारियोस् भन्दै पछाडी हट्न भारतलाई चेतावनी दिएका हुन् ।

कार्यक्रममा अनेरास्ववियूका पूर्व जिल्ला अध्यक्ष किशोर टंडनले भारत पछि नहटे लिपुलेकमै पुगेर आफ्नो भूमि फिर्ता ल्याउने चेतावनी दिए । वक्ताहरुले भारतले नेपाल माथिको हस्तक्षेप नरोके भारतीय भूमिमा पनि नेपालीले धावा बोल्ने चेतावनी दिए ।

कार्यक्रममा मकवानपुर क्याम्पसका स्ववियु सभापति कुमार केसी, हेटौंडा क्याम्पसका स्ववियु सभापति उमेश पुरी, निर्मल माविका स्ववियु सभापति श्याम कँडेल, पूर्व विद्यार्थी नेता श्रवण बर्तौला, लगायतको आतिथ्यता रहेको थियो । अनेरास्वियूका पूर्व जिल्ला संयोजक किसन घिसिङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य पविना लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here