मिनेन्द्र भण्डारी (दर्शन यात्री)/सडकको एउटा पेटीमा
रुँदै थिए कयौं अपांगहरु
सडकको त्यही पेटीमा
कुट्दै थिए गिटी बालकहरु
अनि,
म बेरोजगार युवक
डुलिरहेको थिएँ त्यही सडकको-
पेटि–पेटिहरुमा ।।१।।

एक्कासी माइकिङ हुन्छ
कतै म भाषणको आवाज सुन्छु
अनि त्यही भावुकतामा रम्न
म दौडिँदै कार्यक्रमस्थल पुग्छु
तर विचरा !
ती अपांग र बालकहरु
अव्यस्थ हुन्छन् सडकको-
पेटी र कुइनेटाहरुमा ।।२।।

कार्यक्रम भव्यताका साथ सुरु हुन्छ
नेताहरूले उदघाटन गर्छन्
ठूूलाठूला अक्षरहरुमा
अपांग र बालविकासका नारा हुन्छन् ।
पत्रकारले क्यामेरामा कैद गर्छन्
तिनै उद्घाटनका झलकहरु
म केबल हेरिरहन्छु
एउटा इमानदार दर्शक
अनि
श्रोताको हैसियतले
एउटा बेरोजगार युवक
अनि
इच्छा र आकांक्षा जस्ता स्वभावले ।
पौषको त्यो ठन्डी जाडोमा पनि
म हेरिरहेको छु कार्यक्रम,
जाडोनै नमानी ।
र, हृदयदेखि नै खुशी हुन्छु,
अपांग र बालविकासको नारा देखेर
भाषणका कर्णप्रीय आवाज सुनेर
बस्तुतः सिंगो कार्यक्रम देखेर ।।३।।

तर विडम्बना !
भाषणको अस्तित्व नभए पनि
र, कार्यक्रमको सार्थकता नरहे पनि
पृष्ठनै भरिने गरि नेताको फोटो राखेर
अपांग र बालविकासकै शीर्षकमा
पत्रिकाहरु पुरै रंगिएका हुन्छन् ।
आफू त बेरोजगार युवक !
भोलिपल्ट बिहानै त्यही संचार पढ्दै
म हिँडिरहेको थिएँ-
सडकको पेटीपेटीमा
पौषको बिहानी त्यो ठन्डी जाडोमा
सुतिरहेको थियो एक अपांग नाङ्गै सडकमा
अनि,
मलाई अत्यन्तै माया लाग्यो उसप्रति
मैले त्यही पत्रिका ओढाइदिएँ उसमाथि ।।४।।

पौषको ठन्डी त्यो बिहानी जाडोमा
सडकमा नाङ्गै पल्टेको त्यो घाइते अपांगलाई
हो, मैले ओढाइदिएँ त्यही पत्रिका
जुन पत्रिका भित्र-
तिनै अपांग र बाल-कार्यक्रमहरुका
उद्घाटनका रंगिन झलकहरु थिए
विचारका विकासवादी शब्दहरु थिए
सत्य हो,
त्यही विचार ओढिरहेको थियो अपांगले
विचारप्रेषक नेताको फोटोसहित ।।५।।

अनि म भन्दै थिएँ-
सुत बाबा सुत
सुत राजा सुत
सुत ज्ञानि सुत ।
सायद त्यसैले होला-
त्यहाँ दर्शकको भीड हुन्थ्यो
नाटकमै अभिनय गरे जस्तो
मलाई पनि भान हुन्थ्यो-
बिल्कुलै नयाँ रोजगार पाए जस्तो
सडकको एउटा पेटीमा ।।६।।

२०५६ भाद्र, दोरम्बा–६, रामेछाप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here