शिव पौडेल/मध्य रातको अँध्यारोमा
सुनसान गल्लीहरुमा
टिमटिमे टर्च बालेर
फिर्रर्र फिर्रर्रर सिट्ठी बजाउँदै
मन्द मन्द गतिमा
फन्को मा फन्को मार्दै
हिँडिरहेको छ चौकीदार ।

मनको अँध्यारोमा
सुइय सुस्केरा हाल्दै
उज्यालो भविष्यको टर्च बालेर
बिहानी खोज्दैछ मनको माझमा
थाहा छैन आज के हुन्छ
तर जीवनमा बिहानी खोज्दै
हिँडिरहेको छ चौकीदार ।

जिवनको मध्य भागमा
एउटा सुन्दर सुरुवात खोज्दै
उज्यालो बिहानीको पर्खाइमा
छर्लङ्ग बिताउँछ रात
सृष्टिको बिहान दिनहुँ आउँदा
जीवनको बिहानी पहिल्याउँदै
हिँडिरहेको छ चौकीदार ।

सुतेको छ साहु मस्त निद्रामा
अर्बौंको सम्पत्ति छ उसको जिम्मा
प्रत्येक रात लाठीको भरमा
चोर डाँका सँग भिड्न तयार हुँदै
केही हजार रुपैयाँ तलवको आसमा
अमूल्य ज्यानको बाजी लगाउँदै
हिँडिरहेको छ चौकीदार ।

पुन्टे र उसकी आमा छन् घरमा
उनीहरुको पेट पाल्ने बाटो खोज्दै
निकै टाढा आइपुगेको छ उ
सपनाहरु ठूला नभए पनि
नाङ्गो आङ र भोको पेटको मर्म
सानो पटक्कै नहुने भएर
भौतारिँदै भौतारिँदै
हिँडिरहेको छ चौकीदार ।

खपी नसक्नु पीर छ मनमा
कर्तव्यको भारीले झुकेको छ काँध
पानीले निद्रा पखालेर फाल्छ ऊ
थाकेको शरीरलाई भित्तामा अडाउँदै
झलक्क परिवार सम्झेर
भोली थकाइ मार्ने अभिलाषामा
बुढेसकालको सुखको आशा बोकेर
जवानीमा चिसो पानी खन्याउँदै
हिँडिरहेको छ चौकीदार ।

घडी हेर्छ ऊ घण्टा घण्टामा
रात उज्यालो कहिले हुन्छ भन्दै
दुःखका गीत गुन गुनाएर
आफ्नो स्वर आफैलाई सुनाउँदै
साथी भुस्याहा कुकुरसँग भन्छ ऊ
तँ र म उस्तै त हो नि हैर्

नत्र यो कालो रातमा हामी मात्र किन जागै?
अनिश्चितताका प्रत्येक रात बिताउँदै
बर्षौंदेखि अँध्यारोसँग लडेर
भोलीको नौलो बिहानी पर्खंदै
हिँडिरहेको छ चौकीदार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here