रामलाल विश्वकर्मा/ अहिले देशमा दुई तिहाई बहुमतको कम्युनिष्ट पार्टी सरकारमा छ । दुई परस्पर फरक स्कूलिङ र फरक पृष्ठभूमिबाट आएका दुई पार्टीबिचको सहकार्य र एकताबाट यो सम्भव बनायो । यसले लामो समयदेखि कम्युनिष्ट पार्टीहरुबीच एकता होस् भन्ने चाहने नेपाली जनहरुलाई हर्षित तुल्यायो । जनताले यसको स्वागतमा आफ्नो मत जाहेर गरे । सत्तामा पुर्याए । एकता प्रक्रिया पनि लगभग पूरा हुँदैछ । एकताका बाँकी काम छिटो पूरा होस् भन्ने जनचाहना रहेको छ । एकीकृत र शक्तिशाली पार्टीको नेतृत्वमा नेपालको तिब्रतर विकास अहिलेको जनअपेक्षा हो । यो जनअपेक्षा पूरा गर्नु पार्टी र सरकारको साझा दायित्व हो ।

अहिले यो पार्टी र यसको नेतृत्वको सरकारमाथि चौतर्फी हमला भइरहेको छ । सामन्ती अतिवाद, उग्रवामपन्थी अतिवादको निशाना भएको छ । यसको ठीक ढंगले सामना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका मूल्य मान्यतालाई स्थापित गरी सुदृढ गर्नु वर्तमान सरकारको कार्यभार हो । प्रहारहरुलाई सही ढंगले प्रतिवाद गर्दै जनतालाई प्रभावकारी ढंगले विकासको प्रतिफल हात पार्न सक्ने वातावरण बनाउन आवश्यक छ ।

अहिले नेपालको वामपन्थी जनमतले आफ्नो २००६ सालदेखिको सपना पूरा भएको महसुस गर्दैछन् । २ वर्षको सरकारको गतिविधिले त्यो मत बोक्ने जनतालाई हर्ष न विस्मातको स्थितिमा पुर्याउँदैछ । पानी धमिलो पार्न यहाँ विभिन्न खेलहरु त हुँदैछन् नै । परिमाणमुखी कार्यमा ढिलाईले पनि उनीहरुको कार्यलाई मलजल दिइरहेको छ । यसमा पार्टी र सरकार दुबै चनाखो होस् र छिट्टै विकासको नयाँ मोडलको विकास गरी नेपाललाई साँच्चै समृद्ध नेपाल बनोस्, त्यो समृद्धिको मोडलभित्र विकासको प्रतिफल छाप्रोसम्म पुग्ने नयाँ दृष्टिकोण अनि व्यवहारिक अभ्यासको थालनी नेपालबाट होस् भन्ने चाहना नेपाली क्रान्तिकारी वामपन्थी जनमतको रहेको छ । यसमा पार्टी र सरकारको ध्यान जाओस् ।

अहिले एकाथरी व्यक्ति एवं पार्टीहरु यो सरकारलाई कम्युनिष्ट अधिनायकवाद लाद्न थाल्यो भन्दै कोकोहोलो मच्चाउँदैछन् भने एकाथरी व्यक्ति एवं पार्टीहरु यो पार्टी एवं सरकार प्रतिक्रियावादी दलाल पूँजीवादको हिमायती भन्दै यसको बिरुद्धमा बिद्रोहको धम्की दिँदैछन् । एकीकृत पार्टी निर्माण र सो पार्टीलाई प्राप्त जनमतको आधारमा गठित सरकारलाई कम्युनिष्ट मान्यताबाट च्यूत देख्ने, यी दुबैलाई अहिले युगसापेक्ष श्रमिक वर्गको हित, राष्ट्रहित र राष्ट्र विकासको नयाँ मोडालिटी मार्फत विपरित दिशाबाट आएका दुबै आरोपहरुको उत्तर दिनु यो सरकारको दायित्व हो ।

सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा सही छ । यसलाई कार्यान्वयनको निम्ति लाखौं युवा प्रतिक्षारत छन् । परिमाणमुखी कार्यान्वयनको निम्ति पार्टी र सरकार एक ढिक्का भएर बढ्नु पर्दछ । नारा नारामा सिमित भयो भने भोली हाँस्यकलाकारले काम पाउन सक्छन् । यसलाई व्यवहारमा उतार्न सिंगो पंक्ती एक ढिक्का हुनुका साथै सोही अनुरुपको कार्यनीति आवश्यक पर्दछ । सो कार्यनीति तत्काल निर्माण गरी संगठित लाखौं नेता कार्यकर्ता, युवा, विद्यार्थी, महिला साराका सारा जनतालाई आफू र आफ्नो राष्ट्रको समृद्धिको दिशामा एकसाथ परिचालित गर्ने ठोस नीति योजना र कार्यक्रम तय गरी कार्यान्वयन गर्न ज्वलन्त आवश्यकता हो ।

अहिले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सरकारले समृद्धिको नारा दिएको छ । ७०औं वर्ष सामन्तवादका बिरुद्ध लडेका नेपाली श्रमजीवि वर्गका सचेत हिस्सा समृद्धिको मोडलबारे राम्ररी नियालीरहेको छ । नेपालको संविधान २०७२ ले देशलाई ‘समाजवाद उन्मुख गणतन्त्र नेपाल’ भनि परिभाषित गरेको छ । नेपाल समृद्ध हुनु भनेको व्यापक मात्रामा पूँजीको विकास हुनु हो । राष्ट्रिय पूँजी निर्माण हुनु हो । राष्ट्रिय पूँजीवादको विकासको चरण भनेको बढी सेन्सेटिभ चरण हो । यसमा उनीहरुले सके पूँजीवादमा सिमित राख्ने र श्रमजीविको श्रमको दोहन गरि आफ्नो व्यक्तिगत सुखको स्वर्गलाई बचाईराख्ने दिशामा एकोहोरो जोडवल लगाउँछन् भने हामीले यसलाई समलामूलक विकास सबैको समृद्धिको दिशातिर मोड्दै समाजवादको आधारशीला तयार पार्नुपर्दछ । यसमा सरकार कदापि चुक्नु हुँदैन । यदि चुक्यो भने वैद्य, विप्लवहरुले लगाउँदै आएको आरोप सिद्ध हुन जान्छ र उनीहरुले गर्दै आएको खेतीमा मलजल पुग्दछ । जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुर्याउँछ । समतामूलक विकास मार्फत श्रमिक वर्ग, मध्यम वर्ग, राष्ट्रिय पूँजीपति वर्गसम्मको एकताबद्ध प्रयासले ‘हामी हाम्रो राष्ट्रको विकास गर्न सक्छौं’ भन्ने व्यवहारतः पुष्टी गर्नु सरकारको कार्यभार हो ।

पार्टीहरु जति भएपनि आखिर नेपालका पार्टीहरु दुई धारमा छन् । एकाथरी समानताको पक्षपाती, एकाथरी स्वतन्त्रताको पक्षपाती । सिद्धान्ततः कम्युनिष्ट पार्टी समानतालाई प्रधानता दिने पार्टी हो । समानतालाई प्रधानता दिँदा विगतका कम्युनिष्ट सत्तामा संकट आएका विषय जगजाहेर छ । विश्व कम्युनिष्ट आन्दोलनको विगतका इतिहासको अध्ययनहरुको निश्कर्षको रुपमा तत्कालिन माओवादीले राजनीतिक स्वतन्त्रता सहितको ‘एक्काइसौं शताब्दीको नयाँ जनवाद’ र तत्कालिन एमालेले ‘जनताको वहुदलीय जनवाद’को नीति पास गरी लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै सामन्तवादको अन्त्य गरेर यो लोकतन्त्र स्थापित गरेको हो । यस सन्दर्भमा आजको युगमा राजनीतिक स्वतन्त्रता र आर्थिक समानता मूल प्रवाहको कम्युनिष्ट पार्टीको मूल नीति हो । सदैव हुनुपर्दछ । हामी रुढ कम्युनिष्ट होइनौ सच्चा माक्र्सवादी हौं । माक्र्सवाद गतिशील विज्ञान भएकोले एक्काइसौं शताब्दी अनुकूलको विकास गरी यो सरकारलाई अधिनायकवाद भन्ने र यसलाई संसदवादमा पतन देख्ने दुबै प्रवृत्तिलाई व्यवहारतः उत्तर दिनुपर्ने ऐतिहासिक आवश्यक्ता हो ।

सैद्धान्तिक वहस विमर्ष एक तहमा हुने गर्दछ । राज्यले विकासको नीति बनाउने, त्यसको दुरगामी प्रभावहरुको विषयमा एक तहका जनताबीच वहस विमर्ष हुन्छ । तर भुई तहको जनताले सरकारको नीति कार्यक्रम, अनि बजेटको निर्दिष्ट लक्ष्य बुझ्न सक्दैनन् । खासमा ती भुईं तहको जनमानसलाई प्रत्यक्ष प्रभाव पर्ने भनेको विकास हो । विकास अब तिब्रतर गतिमा हुनुपर्दछ । तीब्रतर विकासले उनीहरुको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्नुपर्दछ । त्यस्तो विकास अनि हरकाममा सहजता विना विगतको पञ्चायत, वहुदल र लोकतान्त्रिक गणतन्त्रबीच भिन्नता छुट्टीँदैन ।

भुईंतहको जनचाहना भनेको सहजतामूलक जीवन र समानतामा आधारित समृद्धि हो । यो दिशातिर पार्टी र सरकारको बेलैमा ध्यान पुग्नु पर्दछ । जसबाट पार्टीको मजवुत शक्ति निर्माण हुन्छ र दुबैखाले अतिवाद पराजित हुनेछन् । देश संविधानको मर्म बमोजिम समाजवादको दिशामा अघि बढ्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here