मिनेन्द्र भण्डारी (दर्शन यात्री)/ विकास प्रकृतिको निरन्तर गतिशील प्रक्रिया हो । विकासको प्रादुर्भाव संघर्ष हो, निरन्तर विकास निरन्तर परिवर्तन हो ।

यथार्थमा विचार र विज्ञानको संयुक्त योगफल विकास हो । अन्ततः आजको मानव समाजको मुल पहिचान विचार ,विज्ञान र विकास हो । यस लेखमा प्रख्यात अंग्रेजी बैज्ञानिक चार्ल्स रोबर्ट डार्विन (१८०९-१८८२) द्वारा प्रतिपादित (theories of evolution) विकासवादी सिदान्तको संक्षिप्त चर्चा गरिन्छ । राजनीतिक दृष्टिकाणले मार्क्सवादको एउटा आधार समेत मानिएको विकासवादी सिद्धान्त प्राकृतिक-जैविक विज्ञानको क्षेत्रमा क्रान्तिकारी उपलब्धि हो ।

डार्विनले विभिन्न प्रकारका जीवजन्तु र वनस्पतिहरुको संकलन गरि त्यसको समुहगत रूपमा गहिरो अध्ययन, अनुसन्धान र परिक्षण पश्चात् निष्कर्षमा विकासवादी सिद्धान्तको प्रस्तुत गरेका थिए । डार्बिनले सन १८५९ मा “on the origin of species by means of natural selection” नामक आफ्नो मौलिक रचना मार्फत विकासवादी सिद्धान्तका आधिकारिक धारणा पेश गरेका थिए ।

जीव भगवानको सृष्टि होइन, पदार्थको उच्चतम विकास हो र सम्पुर्ण प्राणीजगतको चरीत्र द्वन्द्वात्मक छ भन्दै समकालीन धार्मिक अधिभूतवादी दृष्टिकाणमाथि डार्विनले दरिलो मुक्का हाने। उनले जैविक-प्राकृतिक संघर्षबाट प्राणी जगतको उत्पत्ति भएको, जीवहरुको लामो संघर्षको प्रक्रियाबाट मानव-उत्पत्ति र विकास भएको भन्दै वांदरलाई मान्छेको पुर्खाको रुपमा पेश गरे । जिवहरुको उत्पत्ति वा विकास दुवैमा संघर्षको भुमिका अनिवार्य हुने उनको निष्कर्ष छ ।

विकासवादी सिद्धान्तका चार खम्बा :- १) अस्तित्वका लागि संघर्ष-: सबै प्रकारका जीवजन्तू तथा वनस्पतिले आफ्नो अस्तित्वका लागि जिवनपर्यन्त ३ प्रकारका संघर्ष गर्दछन् । क) अत: प्रातिय संघर्ष – आफ्नै वर्ग वा जातभित्र खाना, यौनक्रिया र अन्य सुबिधाका हुने संघर्ष । (जात वा वर्ग एउटै) ख) अन्तरजातीय संघर्ष – दुई भिन्न प्रकारका प्राणीहरुका विच हुने रक्षा र आक्रमण सम्बन्धि संघर्ष ( मुसा र बिरालो ) ग) पर्यावरणिय संघर्ष – प्राकृतिक प्रकोप, र प्रतिकुल वातावरणसंग हुने संघर्ष । (भुकम्प , चिसो , आंधी, अध्यारो आदि)

२) असाधारण उत्पादन क्षमता :- सबै प्राणीहरुमा उत्पादन क्षमता हुन्छ । सबैभन्दा कम उत्पादन क्षमता भएको जीव हात्ती हो । यसले ९७ वर्षमा बढीमा ६ वटा मात्रै बच्चा जन्माउन सक्छ । सबैभन्दा बढी उत्पादन क्षमता भएको प्राणी समुन्द्रीसिपि (oyster) हो । यसले एक वर्षमा ६० लाख फुल पार्छ । यसको सबै सन्तान बाच्ने हो भने एक वर्षमा पृथ्वीको ८ गुणा भाग ढाक्छ । प्राणी-जगतमा उत्पादन क्षमता र त्यसको विकासले प्राणी स्वयंको बिनास वा मृत्युको आधार बनाउँछ ।

३) योग्यतम प्राणीको बचावट र प्राकृतिक छनौट :- प्रत्येक प्राणीले बाँच्नका लागि आफूलाई स्थानीय वातावरणसँग अनुकुल बनाउनु प्राकृतिक छनौट हो र आफ्न दुश्मनहरुबाट बच्नका लागि आफूसँग भएको दांत, नंग्रा, सिङ, पुच्छर, हात, खुट्टा आदिको प्रयोग वा परिचालन गर्नु बचावाट (रक्षा) हो ।

४) विविधता, वंशगति र नयाँ प्राणी विशेषको उत्पती :- प्राकृतिक छनौट र बचावटको लामो अवधि पार गर्दा प्राणीहरु विविधतामा बिभक्त हुँदै आफ्ना पुर्खाभन्दा भिन्न वा पृथक बन्छन् । यहाँ भिन्नताविना विकास र छनौटविना भिन्नता सम्भव हुँदैन । तसर्थ प्राकृतिक छनौटले भिन्नता, भिन्नताले विविधता र विविधताले प्राणीमा नयाँ गुण, नयाँ विशेषता र नयाँ स्वरुपको विकास गराउँछ । यसरी प्राणीहरु भिन्न परिस्थितिसँग अनुकुलित बन्ने प्रक्रियामा श्रम, संघर्ष, छनौट र बचावटको लामो अवधि पार गर्दा नयाँ प्राणी विशेषको उत्पत्ति र विकास हुन्छ । बांदरबाट मान्छेको विकास यही प्रक्रियाबाट सम्भव भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here