शिल्ड उचाल्दै गोल्डकप विजेता 'रामेछाप' कार्यक्रमका अतिथिहरुको साथमा

हेटौंडा,९ कात्तिकः प्रथम राष्ट्रिय माझी गोल्डकप फूटबल प्रतियोगिताको उपाधिमा रामेछापले कब्जा जमाएको छ । मकवानपुरको बकैया गाउँपालिका जुरेलीस्थित खेल मैदानमा आज भएको फाइनल स्पर्धामा सिन्धुलीलाई ३–० गोल अन्तरले पराजित गर्दै रामेछापले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलको निर्धारित समयभित्र दुबै टिमले गोल गर्न नसकेपछि रामेछापले ट्राइब्रेकमा अब्बल देखिएको हो । ट्राइब्रेकरको अवसरलाई सदुपयोग गर्दै रामेछापका लागि जर्सी नं. १२ का मनोज माझी, जर्सी नं. १० का नवीन माझी र जर्सी नं. ८ का श्रीकृष्ण माझीले गोल गरेका हुन् । उता सिन्धुलीको तर्फबाट सबै प्रयास असफल भएपछि रामेछापले गोल्डकपको उपाधी चुम्ने अवसर प्राप्त गरेको हो । सिन्धुलीका गोल रक्षक सुमन माझी फाइनल खेलको म्यान अफ द म्याच बन्न सफल भए ।

गोल्डकप विजेता रामेछाप १ लाख रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यस्तै, उपविजेता बनेको सिन्धुलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

कात्तिक १ गतेदेखि सुरु भएको माझी गोल्डकप अन्तर्गत आज भएको समापन समारोहमा विभिन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको थियो । प्रतियोगितामा सिन्धुलीका विशाल माझी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै, रामेछापका श्रीकृष्ण माझी उत्कृष्ट मिडफिल्डर, रामेछापकै माइते माझी उत्कृष्ट गोल रक्षक तथा सिन्धुलीका प्रकाश माझी उत्कृष्ट डिफेन्डर भए । रामेछापका पुजारी माझी उत्कृष्ट प्रशिक्षकको उपाधी हासिल गर्न सफल भए । प्रतियोगितामा समान ५–५ गोल गर्दै सुनसरीका देवकुमार माझी र रामेछापका मनोज माझीले बढी गोलकर्ता घोषित भए । उनीहरुलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद, माझी युवा सशक्तिकरण र पहिचानका लागि खेलकुद भन्ने नाराका साथ नेपाल माझी उत्थान संघ, मकवानपुरले प्रथम राष्ट्रिय माझी गोल्डकपको फूटबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका थिए । आज भएको प्रतियोगिताको समापन समारोहमा ३ नं. प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगिताका लागि स्थानीय सरकार, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, नीजि क्षेत्र, विभिन्न व्यक्ति तथा निकायहरुबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग प्राप्त भएकोले कार्यक्रम सफल भएको भन्दै प्रथम राष्ट्रिय माझी गोल्डकपका आर्थिक समिति संयोजक लक्ष्मी माझीले सहयोगी निकायहरुलाई समापन समारोहमा धन्यवाद ज्ञापन गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here