सबैलाई खुशी राख्ने कति जाति श्रीमती
माया सबैलाई पुर्याउने कति जाति श्रीमती

आधि रात बितेपछी आँखा बन्द गर्दै
भालेको डाकोसँगै उठ्दछिन् श्रीमती

बिहान बिहानै दैलोकुचो पानी पधेँरो गर्दै
बेडमा पतिलाइ चिया पुर्याउँदछिन् श्रीमती

गाइभैंसी गोबर सोत्तर दुहुनु लाउनु गर्दै
नानीबाबुलाई नास्ता खुवाउँछिन् श्रीमती

छिटो मीठो खाना पकाई सबैको पेट गर्दै
आधापेट खाई सन्तोष हुन्छिन् श्रीमती

चुलोचौको भ्याइ दिनभर मेलापात गर्दै
झम्के साँझ हुँदै घर फर्किन्छिन् श्रीमती

श्रीमान् सेवा र बच्चाको स्याहार गर्दागर्दै
आफ्नै स्वास्थ्य बिगार्न पुग्छिन् श्रीमती

श्रीमान् र केटाकेटीको नौ नखरा झेल्दै
सहनशिलताकी खानी बन्छिन् श्रीमती

हारेको जिन्दगी आइमाईको हो भन्दै
आँसुमा पनि हाँसो भेटाउँछिन् श्रीमती ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here