स्वर्णिका खड्का
इटहरी, सुनसरी

प्यारी बाबु,
मैले तिमिलाइ बाबू भनेकोमा नरिसाउ ल । हुन त तिमिलाइ बोलाउन धेरै नामहरु छन् । ऋतु, ऋतुराज, मुनु, वेदांशि र वेदु । तर मलाई त तिम्रो बाबु नाम नै राम्रो लाग्यो । बाबु, मैले तिम्रो गुलाबी उमेर पढेर सके नि । तिमी भन्दा पहिले पनि कत्ती केटीहरुको कथा पढेकि थिएँ । कतिका उमेर गुलाबी नै पनि थिए । तर तिमी त मलाई आफैं जस्तो पो लाग्यौ । तिमीलाई सानै हुँदा आफू केटा नै हुँ भन्ने लाग्थ्यो नि है ? मलाई पनि तिम्रो बालापन संगै आफू सानी भए जस्तै लागिरहेको थियो । तिमिलाई थाहा छ ? मेरो पनि कपाल तिम्रो जस्तै ब्योइज कट थियो नि ।
मलाई पनि मेरो बुबाले छोरा नै भन्नू हुन्छ । तिमी ठूली हुँदै गए संगसंगैै म पनि तिमी संगै बढिरहेको जस्तो मलाई लागि रहेको थियो । तिमी पहिलो पटक महिनावारी हुँदा मामुलाई नभनेको पढ्दै गर्दा मलाई आफूलाई पहिलो पटक महिनावारी भएको याद आएको थियो । तिमी महिनावारीको पीडाले छटपटाईरहँदा कता कता मलाई पनि तल्लो पेट दुखिरहेको थियो । तिम्रो बढिरहेको शरीर संगसँगै मेरा प्रत्येक अङ्गहरु फेरि तिमि संगै तिमी बनेरै बढीरहेको जस्तो लागिरहेको थियो । यी सब त मैले भोगेका र थाहा पाएकै कुरा थिए । तर मलाई तिमी त्यति चाँडै बाबुबाट नानी बन्न खोज्नेछौ भन्ने चाहिँ पटक्कै लागेको थिएन ।
प्रिय बाबु, तर तिम्रो तिम्रो कपाल पाल्ने, चाँडै ठूली भएर ममता दिदिको त्यो नेटवाला अम्ब्रेला कुर्ता अनि मामुको सारी र ब्लाउजमा ठीक्क हुने चाहना संगै बढीरहेका थिए । अनि मेरो तिमिलाई बढिरहेको पढिरहने चाहनाहरु । तिमिले ऐना अगाडी रिहर्सल गरेरै त्यस्तो राम्रो अभिनय गरेर पुरस्कार र प्रसंशा पाईरहँदा म तिमी जत्तिकै खुशी थिएँ ।
बाबु, तर तिमीले आफूलाई मन पराउँछु भन्नेहरु सबैले डु यु लभ मि वदाशिं भन्दा उनीहरु दुःखी होलान् की भनेर सबैलाई येस भन्दा चाहिँ म तिमी खुसी भए जति खुसी हुन सकिनँ । के सबैलाई खुसी बनाउँन सम्झौता नै गर्नुपर्दछ भन्ने छ र ? तिम्रो त्यो निर्दोष येसले गर्दा तिम्रा बारेमा नराम्रा कुरा फैलन्छन जस्तो मलाई लागिरहेको थियो । तिमिले आफ्नी साथीको बुबासंग परिरहेको मनमुटाव देखेर आफ्नो बुबामामुसंग कहिल्यै टाढा नहुने वाचा मनमनै गरि रहँदा मैले पनि तिमी संगै वाचा गरि रहेकी थिएँ । त्यसैले त मैले तिमिमा आफू देखिरहेकी थिए नि । तर यहाँसम्म तिमी र म एउटै लागे पनि त्यसपछि भने मैले चाहेर पनि तिमिमा आफूलाई देख्न सकिन । तिमिले कति चाँडै आफ्नो वाचा भुल््यौ है ? हुन त यसमा तिम्रो गल्ती छ पनि भन्दिन म । गुलाबी उमेरको प्रभाव भनौ न, तिमि छिट्टै बाबुबाट मुनु भयौ, टुनु कि मुनु तर बाबु मलाई तिम्रो टुनु राम्रो मान्छे हो जस्तो कहिल्यै लागेको थिएन । गुलाबी उमेरमा सायद गुलाबी माया बस्दा ठिक बेठिक छुट्टयाउन नसकिने भएरै होला तिमिलाई भने मलाई जस्तो लागेन ।
सबै भन्दा दुःखी त म तिमिले घर छोडेर जाँदा भएकी थिए । तिमी आफैले भनेकी थियौ नि हैन बाबु , पेटमा राखेको र आफ्नै शरीर निचोरेर दूध चुसाएको भन्दा गहिरो सम्बन्ध के हुन्छ होला र ? तर त्यो दिन तिमी त्यही सम्बन्धबाट टाढा भाग्न घर छोडेर जाँदै थियौ । त्यो भन्दा बढी त भर्खरै पाएको गुलाबी उमेरको गुलाबी मायाका लागि जाँदै थियौ तिमी । आफूले पार गरिनसकेको उमेर तिमीसंगै पार गरिरहँदा मैले पटकपटक तिमिले आफ्नो साथिको बुबा र साथिको सम्बन्ध बिग्रेको देख्दा खाएको कसम खाईरहें र डराईरहें । कतै मैले पनि तिमिले जस्तै कसम तोडने त छैन ? त्यो मायाजाल तोडिँदा नि बाबु , तिमी त्यो सर भन्दा मामुसँग रोएकि भए तिमिले तिम्रो गुलाबी उमेरको सबै भन्दा ठूलो गल्ती गर्ने थिएनौ ।
आफ्नै मामुसँग त्यत्रो ठूलो बदला लिन कसरी सक्यौ तिमिले ? जे होस तिम्रो गुलाबी उमेर पढिसक्दा म आफै सानी भएँ ,फेरि एक पटक सबै परिवर्तनहरु महसुस गरें, कति पटक तिमी संगै रोएँ र हाँसे, कति पटक तिमिलाई गल्ती गर्नबाट रोक्न खोजे र कति पटक तिमिले गरेका निर्णयबाट खुशी भएँ । साँच्चै बाबु टाढाबाट हेर्दा नीला देखिएका पहाडहरु नजिक गएर हेर्दा नीला देखिँदैनन् रहेछ । हरिया देखिँदारहेछन् । अझ पहाडमै गएर पहाडलाई हेर्दा हरिया ेभित्र अनेक रङ र बेरङहरु देखिँदारहेछन् । जीवन पनि पहाड जस्तै हुन्छ । धेरै धन्यवाद तिमिलाइ आफ्नो गुलाबी उमेर पटक्कै नलजाई स्फटिक जस्तै सफा र प्रष्ट रुपमा लेखेकोमा र अझ धेरै धन्यवाद तिम्रो त्यो सरलाई जसले तिमिबाट यो प्रमिस गराए । धन्यवाद मेरो गुलाबी उमेर बाँकी रहदै गुलाबी उमेर प्रष्ट्याई दिएकोमा । तिमिलाई तिम्रो मखमली उमेरको शुभकामना ।
तिम्रो गुलाबी उमेरकी गुलाबी पाठक ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here