काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ‘मास प्रिन्टर’ ल्याएको छ । सन् ०१८ अप्रिल ३० मा ७५ दिनभित्र ल्याउने गरी भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सलाई विभागले मास प्रिन्टरको ठेक्का लगाएको थियो ।

जसअनुसार यही असार ३० गते ७५ दिनको म्याद सकिएको थियो । मद्रासले साउन २७ गते मास प्रिन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उतारेको विभागले बताएको छ ।

“भन्सारको आवश्यक काम सकेर प्रिन्टर सोमबार विभाग भित्र्याएका छौं,” विभागको सूचना प्रविधि शाखाका एक कर्मचारीले भने, “अहिले सफ्टवेयर इन्स्टलको काम भइरहेको छ । एक हप्ताबाट मास प्रिन्टर सञ्चालनमा आउने छ ।”

मास प्रिन्टरले दैनिक १० हजारको संख्यामा स्मार्ट कार्ड प्रिन्ट गर्ने विभागको दाबी छ । यसअघि विभागसँग भएका साना आकारका ९ वटा प्रिन्टर थिए ।