नारायणी देवकोटा
गत असार एक गते एक जना लेखकले फोन गरेर भन्नुभयो, ‘हेटौंडामा बसेर कविता लेखिरहनुभएकी अप्सरा तिम्सिनाले कथासंग्रह निकाल्नुभएको छ, हेटौंँडा बसे पनि नेपाली साहित्यमा बल्लियो प्रभाव पार्ने गरी लेखनमा लाग्नुभएको छ । उहाँको किताबमा तपाईँले समीक्षा गरिदिनु न ।मलाई किताबको नाम र लेखकको नाम भन्नु न’ भन्दा ‘केही बेरमा उहाँले नै फोन गर्नुहुन्छ, किताब पनि दिनुहुन्छ’ भन्नुभयो ।
त्यसपछि अप्सरा तिम्सिनाले मलाई फोन गर्नुभयो र बानेश्वरमा किताब लिएर आउनुभयो । उहाँलाई पर्खिंदासम्म म चिया खाइरहेकी थिएँ, उहाँ निकै हतारमा हुनुहुन्थ्यो । चिया खाऊँ भन्दा, समय छैन, अर्को पल्ट आउँदा भेटौँला भन्दै किताब दिएर जानुभयो । पाँच मिनेटको समयमा हामीले परिचय गर्यौं । ‘साउन लागेपछि मात्रै पढेर किताबको बारेमा भन्छु है दिदी’ भनेँ । घरमा आएर उहाँको नाम फेसबुकमा खोजेँ, पेसाले शिक्षक हुनुहुँदो रहेछ । मकवानपुर जिल्लामा बसेर कविता, कथा लेखिरहने र साहित्यिक क्रियाकलापमा सक्रिय हुनुहुँदो रहेछ (सक्रिय किन भनेको भने, धेरै महिला लेखकहरू लेखिरहेका भए पनि साहित्यिक कार्यक्रममा सक्रिय हुन गाह्रो भइरहेको छ) । ‘आँचल’ नामक साहित्यिक संस्थासँग आबद्ध हुनुहुँदो रहेछ ।
फेसबुक पछि किताब खोलेँ, कुनै पनि किताबभन्दा अगाडि म लेखकले उक्त किताबका बारेमा भनेको भनाइ पढ्छु । उहाँले ‘किताबमा कथाबाहिरका कुरा’ भनेर कथाहरू भात भान्छामा काम गर्दा गर्दै लेखिएका कथाहरू हुन् भन्नुभएको रहेछ भूमिकामा । कथालाई कसरी हेर्ने भन्ने कुरामा म लक्ष्मीप्रसाद देवकोटाको, ‘सानो किस्सा एउटा सानो झ्याल हो जहाँबाट सानो सन्सार चियाइन्छ’ भन्ने भनाइलाई पछ्याउँछु । पछि समाजशास्त्र पढेपछि कुन मान्छेले कुन झ्यालमा बसेर कस्तो संसार चियाउँछ भन्ने कुरामा बुझ्ने बुझाउने काम गर्छु । अप्सारा तिम्सिनाका कथाहरू पढेर सकेपछि लाग्यो एउटी शिक्षकले हेर्ने संसार मैले हेर्ने संसारभन्दा भिन्न हुँदो रहेछ ।
१६ वटा कथाको संकलन ‘अभ्यन्तर’ मा गरिबी, प्रेम, यौन, समाजमा रहेको छोरा र छोरीबीचको विभेद, लागूऔषधको कुलत, किशोर अवस्थामा आउने परिवर्तनहरू, मानव बेचबिखनजस्ता विषयलाई केन्द्रमा राखिएको छ । ‘धरा’ कथामा सानैमा प्रेम विवाह गरेकी युवतीमाथि जब छोरा पाउनैपर्ने समाजको माग थोपरिन्छ, पाँचौं पटक पनि छोरी जन्माएपछि चेतनाशून्य (सहरको भाषामा डिप्रेसन) अवस्थामा पुगेको कथा छ । ‘प्रतीक्षा’ नामक कथामा अभिभावकले गर्ने गालीले बालबालिकामा पर्ने मानसिक असर र उनीहरूले चाल्ने गलत कदमलाई उतारिएको छ । ‘पुनर्जन्म’ नामक कथामा अन्तरजातीय प्रेम सम्बन्धलाई परिवारले वैधता नदिएपछि आत्महत्या गरेका युवा र मानसिक सन्तुलन गुमाएकी युवतीको कथा छ, जो मानसिक सन्तुलन गुमाएपछि कैयौं पटक बलात्कारको सिकार हुन्छिन् ।
‘प्रोत्साहन’ कथामा अतिरिक्त क्रियाकलापमा खेलाडीले राम्रो नगरेका कारण शिक्षकले दिने सजायका कारण विद्यालय जान नचाहने विद्यार्थीको कथा छ भने ‘रूपान्तरण’ कथामा प्रेम विवाह गरेकी श्रीमतीलाई आफ्नो श्रीमान्ले घरबाट बाहिर निकन नदिने, अरूसँग गरिने सामान्य व्यवहारमा पनि शंका गर्ने कुरालाई पनि पचाइरहेकी युवती राजनीतिक कार्यकर्तामा रूपान्तरण भएको कथा छ । द्वन्द्वकालमा सन्तान बेपत्ता भएका बाबुआमा, क्याम्पसको गेटमा पालेको काम गर्ने व्यक्ति, किशोरवयमा प्रेममा पर्न लागेकी नातिनी र बालविवाह गरेकी हजुरआमाका कथा पनि यस संग्रहमा छन् ।
‘अन्तरकथा’ मा वैदेशिक रोजगारीमा गएको बुवाको कतारमा मृत्यु भएको, बुवाको मृत्युपछि आमा पनि घर छोडेर हिँडेको बालकको अवस्था वर्णित छ । ‘दिदी डिपो लगाइदिनोस्न’ कथामा श्रीमती बिरामी भएपछि घरबाहिर पार्टनर बनाएर घरमा कहिलेकाहीँ मात्र आउने श्रीमान्को कथा छ भने ‘अपहरण’ मा मानव तस्करीको कथा छ । अर्को कथा छ, ‘अस्मिता’ । यो त्यस्तो बाबुको कथा हो, जो केही पैसाको लोभमा आफ्नी छोरीको बलात्कारीविरुद्धको मुद्दा फिर्ता लिन तयार हुन्छ ।
संग्रहमा एउटा कथा छ, ‘संयोग’ । भाइलाई पढाउनका लागि आफ्नो पढाइ छोडेर काम गरिरहेकी दिदी कामको सिलसिलामा यौन दुर्व्यवहारमा पर्छे । परिवारले चार सन्तानको बाबुसँग विवाह गराइदिन्छ । लगत्तै श्रीमान्को मृत्यु हुन्छ । अनि, उनका छोराछोरी पढाउन युवतीले यौनकर्मी बन्नुपर्ने अवस्था आउँछ । उता, दिदीको मिहिनेतमा भाइ धेरै पढेर ठूलो मान्छे हुन्छ । यदि यौनकर्मीको खोजीमा हिँडेको भाइले आफ्नै दिदीलाई यौनकर्मीका रूपमा भेट्यो भने के होला ? ‘संयोग’ त्यही संयोगको कथा हो । समग्रमा भन्दा अप्सराका कथा मध्यमवर्गीय मानिसहरू वरपर घुमेका छन् । एउटा शिक्षकको स्थानमा बसेर हेर्दा देखिने समाज, प्रेम र यौनमा आएको स्वतन्त्रता, भत्किँदै गरेका घरहरूका कारणप्रतिका चिन्ता, किशोर मनोविज्ञानलाई समेटिएको छ । महिला अधिकारको पक्षमा वकालत गर्दागर्दै पनि वैचारिक रूपमा केही ठाउँमा अस्पष्टता छन् । तैपनि, कथा उन्ने कलाले पाठकलाई तानिरहन्छ ।
किताबमाथि समीक्षाका लागि नोट लेख्दै गर्दा लेखकका लागि भनेर नोट लेखेकी थिएँ, आगामी लेखनमा काम लाग्ला भनेर । उक्त नोटहरू केही टाइप गरेपछि लाग्यो, ‘समीक्षा प्रकाशित भएपछि दिउँला, त्यहीँ हेटौँडा त बस्नुहुन्छ नि ।’ तर साउन १३ गते बिहान उहाँको मृत्यु भएको जानकारी पाउँदा स्तब्ध भएँ । उहाँको मृत्युपछि उहाँका बारेमा लेखिएका श्रद्धाञ्जलीहरू पढिरहेँ । लाग्यो, नेपाली साहित्यमा केही काम गर्ने, अलिकति महिलाका पक्षमा लेखौँ भनेर लाग्ने एउटा जिन्दगी असमयमा अस्तायो । बानेश्वरमा भेट्न आउँदा, ‘जिन्दगीको के भर छ र, एक कप चियासँगै खाऊँ’ भनेर कर गर्न नसकेकोमा थकथकी लाग्यो ।
नारायणी देवकोटा/कान्तिपुर