ऋषिराम पोखरेल (हेटौडा)
जेठ महिनाको टन्टलापुर घाम । उखरमाउलो गर्मी यसपाली त झनै के पो भएको हो ? दिउसो काम नगरे बेलुका मुखमा माड नपर्नेहरु बाहेक कोहि पनि बाहिर निस्कन मन गर्र्दैनन् । हुन त कुनै पनि ठाउँलाई सहरको झलक दिन केहि थान कालो पत्रे बाटो चाहिने रहेछ । तर यसले अचक्ली गर्मी पनि वढाउदो रहेछ भन्छन् मान्छेहरु । हो कि क्याहो जस्तो लाग्छ ।
आ..जे सुकै होस् । फ्यानको तातो हावाले वाक्क भएपछि मनमनै भन्दै मनमाया बाहिर निस्केर घरपछाडि करेसा बारीतिर लागि । भात निल्न सजिलो पार्ने हरियो परियो केहि फेला पर्छ कि उस्ले चारैतिर आफ्ना आखाँ दौडाउदै थिइर्, आमा भन्दै छोरो निलेस आइपुग्यो । स्कूलै नपुगी फर्केर आको ? आज पढाई–सडाई छैन ? मनमाया कराई ।
आज अध्यक्षको छोरीको बिहे रे निलेसले भन्यो– सबै सर मिसहरु उत्तै गए रे । पाले दाइ पनि ढोका बन्द गरिसकेपछि उत्तै जाने रे ।
ह्या स्कुल पनि कति छुट्टी भाको ? मनमायाले भनि अस्ति मात्रै हेड सरको गहँु काट्नु छ भन्दै स्कूलै वन्द गरेर गए । कहिले शिक्षक आन्दोलन कहिले नेपाल बन्द । पढाउने दिन कहिल्यै नआउने भो ।
खोलामा पौडी खेल्न जाउ आमा..? सबै साथी त्याँ गा..का छन् । निलेसले अनुमति माग्यो ।
पर्दैन, मनमायाले झपारी घरैमा वसेर पढ्नु । पोहोर पनि फेल भयो ।
तर बाबु आमाले भनेको मान्नलाई सिकाएको भए पो । निलेस साथीहरुको पछि लागिहाल्यो ।
मनमायाले मुस्किलले एकमुठी जति साग पनि टिप्न भ्याएकी थिइन होली पल्ला घरबाट धनकली दिदी गराइन लौन नी के भएको यस्तो ? के भए छ र दिदी ?– मनमायाले सोधि, हेर न राकेशलाई । “कस्तो हुलिया बनाएर आएको छ ।” धनकलीले भनी । मनमायाका आखा राकेश माथि पर्दा झन सातो उड्यो । रगतपच्छे भएर राकेश आमा धनकलीको अगाडी उभिएको थियो । “हरे ! शिव” कस्तो होला नि यस्तो गरेको । कस्तो निर्दयी होला । कस्ले हँ– मनमाया चिच्याई । आफूलाई रक्ताम्य पार्नेको नाम भन्नमात्र खोजेको थियो राकेशको मुखबाट एउटा जिनिस फ्यात्त भुईमा झर्यो।
लौ के हो यो ? धनकली चिच्याई “ के रे छ दिदी” –मनमायाले सोधी । आफू नजिकैको हसियाको टुप्पोले त्यो जिनिसलाई चलाउदै धनकली आश्चर्य चकित भएर कराई–“अबुई कान ! कस्को हो ” “त्यहि विक्कीको त होनि ।” हेर्नुस त आमा त्यसले मेरो एउटा औला नै खाइदियो । आफ्नो औला देखाउदै राकेशले भन्यो ।
हावा खान कौशीमा निस्केका नजरमान बुढा यो सब हेरिरहेछन् । उनले भने अब स्कूल गएका बच्चा अंग भङ्ग नभई घर नफर्किने नै भए । कस्तो समय आयो कस्तो ? अस्ति हाम्रो कान्छा कि छोरी दाहिने हात ठनक्क भाँचेर घर आई । पर्खालबाट हाम फाल्ने भईछ । यसै नभाको बेला कान्छाले टोलविकासबाट ऋण लिएर आज प्लास्टर गराएर ल्यायो ।
“भुराहरुले यस्तो उपद्रो गर्दा मास्टरहरु के हेरेर बस्छन् कुन्नी ?”–मनमायाले आक्रोस पोखी ।
“के गर्नु नि ?” प्याकुरेल बाजेले भने–“कोही मोवाईल खेलेर बस्ता हुन् । कोही सोफामा उघ्दा हुन् । कोही विनाकामका राजनीति गफ चुटेर बस्दा हुन् । उनीहरुका छोराछोरी पढ्ने होइनन् । अरुका छोराछोरीको के मतलव ।
“मेरो सालो किस्ने पनि मास्टर हो । उ कहिले स्कूल गा..को देखिदैन ।” खरेल बा ले भने – “जग्गा दलालीमा लागेको छ रे । मान्छेले कुरा काट्लान भनेर भतिजी चाहीलाई खै कति हो तलव दिएर आफ्नो घण्टी लिन लगा छ रे । सानै उमेरमा कुरुस्त पैसा कमाएर गाडी चढ्ने भइसक्यो ।”
“हाम्रो अम्मरे ८ कक्षा पुगे भन्छ, अक्षर फुटाउन पनि जाँन्दैन । कस्तो पढाई हो आजकल । म त उसलाई ड्राइविङ सिकाएर पठाउ कि क्या हो अरव तिर ।”–रुम्बा कान्छाले भन्यो ।
“बरु एउटा बहुगामी, मांश मदीरा सेवी ब्राम्हणले भक्ति गर्यो भने भगवान प्रकट होलान् हेडसर स्कूलमा प्रकट हुँदैनन् ।” प्याकुरेल बाजेले भने हेड मास्टर गोष्ठी, तालिम, काज, कार्यालय भन्दै स्कूलमा भन्दा बरु पार्टी कार्यालय तिरै समय बिताउने । शिक्षकहरु स्कूल जादै नजाने । गइहाले काम छ भनेर स्कूलमा धेरै बेर नबस्ने । बसिहाले कक्षा कोठा भित्र नपस्ने । पसि हाले पनि नपढाउने । पढाईहाले भने नबुझाउने भएपछि केटाकेटी उपद्रोभएर निस्किहाल्छन् नि ।
“होइन ती गोठ गाउले हरि बाजे.. के भाका र एक महिना अघि माला र अविरले पुरिएर घर आइपुग्या थिए ।” – खडानन्द बाजेले जिज्ञासा राखे ।
“खै स्कूलको अध्यक्ष भा..को भन्ने सुने थेँ ।” प्याकुरेल बाजेले बेलि विस्तार लाए– “बोर्डिङमा पढाएको बच्चलाई कूल भर्ना गरेर अध्यक्ष पद हात पारेछन् । पढाई नराम्रो भो भनेर फेरी बोर्डिङ मै फर्काए रे । अहिले त उनी कि नमस्ते खान, कि हेडमास्टरले बोलाएको बेलामा सोड्के तान्न मात्र जान्छन् रे । ”
सरकार के हेरेर बसेको छ ? धनकलीले आक्रोश पोखिन् ।
सरकारले हेर्ने भनेको अधिकारी विनी, स्रोत व्यक्तिको आँखाले हो । उनीहरु शिक्षकका संगठन र दलका दबाबमा काम गर्न बाध्य छन् । ती मध्ये कोही यसो सेकुवा सोड्के व्यवस्थाका लागि मुर्गा खोज्दै समय बिताउछन् । केही गर्छु भन्नेहरु सरकारको आँखाको तारो बन्छन् । स्थानीय सरकार अर्को चुनाव हार्ने डरले चुँ.. सम्म गर्दैन, अहिले यस्तै छ । प्याकुरेल बाजेले थपे –“सरकारी स्कूल ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here