हेटौंडा,१८ असारः हरिभक्त कटुवालको ८४औं जन्म जयन्तीको अवसरमा आज हेटौंडामा विशेष कार्यक्रम भएको छ । कटुवालको जन्मदिनको अवसर पारेर सर्जक सञ्जाल मकवानपुरले वृत्तचित्र प्रदर्शनी तथा कटुवालद्वारा लेखिएका कविता वाचन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा हरिभक्त कटुवाललाई विस्तृत रुपमा चिनाउने ”अनि हरिभक्त फर्किएनन्”, वृत्तचित्र प्रदर्शन भएको थियो । जसमा उनको जन्मदेखि जीवनका संघर्ष, उतारचढाव, संलग्नता, नेपाली साहित्यमा उनको योगदान र मृत्युसम्मका जानकारीहरु समेटिएका थिए ।

वृत्तचित्रका तयारीका सन्दर्भमा बोल्दै निर्देशक पुरु लम्सालले बाल्यकालदेखि नै आफू हरिभक्त कटुवालको सृजनाप्रति आकर्षित भएको बताए । उनको विषयमा सुनिने नकारात्मक टिप्पणीका बीच कटुवालको जीवन यथार्थ जानकारीको लागि आफूले झण्डै ४ वर्ष निरन्तर मेहनत गरेर वृत्तचित्र तयार पारेको उनले बताए ।

कटुवालको कालजयी सृजना, उनको जीवनका यथार्थहरु बाहिर ल्याउन मेहनत गर्ने निर्देशक लम्साललाई मकवानपुरका अग्रज साहित्यकार तथा शिक्षासेवी तुल्सी थापाले आभार प्रकट गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका साहित्यकार थापाले कटुवालको एउटा कविता वाचन गरेर सुनाउँदै नेपाली साहित्यमा योगदान दिएका कवि कटुवालललाई कुनै न कुनै रुपले सम्मान गरिनुपर्ने बताए ।

कार्यक्रममा मकवानपुरका कविहरुले हरिभक्त कटुवालद्वारा लेखिएको कविताहरु पनि सुनाएका थिए । सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेश निखिलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्लाका साहित्यकार तथा साहित्यानुरागीहरु सहभागी थिए ।