– मोहनप्रसाद खतिवडा
टोकियो । कुनै पनि देशको विकाश, सम्बृद्धी,सुरक्षा र शिक्षा भन्ने कुरा त्यस देशमा भएका नेतृत्वको मानसिकता, शिक्षा र उनीहरूको दुरदृष्टिले निर्धारण गर्ने गर्दछ। नेतृत्वको दूरदर्शिता र सजगता नै अझ देशको सुरक्षा संयन्त्र बलियो बन्न सक्दछ भन्ने कुरा विश्वका बिभिन्न देशहरूलाई हेरेर बुझ्न र जान्न सकिन्छ ।
कुनै पनि देशमा आपराधिक कृयाकलाप गतिविधिहरू वृद्धि हुँदै जानुमा त्यस देशको सरकार, राजनितिक नेतृत्व ,प्रहरी प्रशासनको पनि उत्तिकै संलग्नता रहन्छ भन्ने कुरा छर्लङ्गै बुझ्न सकिन्छ । देश चाहे बिकसित होस् या विकासोन्मुख चाहे अल्पविकसित जुनसुकै अवस्थामा रहे पनि सुरक्षा संयन्त्र साथै त्यस देशका नागरिक देशप्रति ईमान्दारीता, सिस्टम प्रति बफादार जब सम्म हुन सक्दैन र राज्यले बनाउन सक्दैन तबसम्म सुरक्षामा समस्या खड्किइरहन्छ । देशमा हत्या हिंसा अपराधहरू वृद्धि भई नै रहन्छन् ।
संसारका विकसित देशहरू मध्ये केही देशहरूलाई हेर्ने हो भने जापानमा एक लाख जनसंख्यामा हत्याको दर ०।३ प्रतिशत रहेको तथ्यांकहरुले देखाइरहेका छन् भने अमेरिकामा ४ प्रतिशत रहेको पाइन्छ । जापानमा प्रहरीको संख्या अधिक भएता पनि अपराधको दर भने करिब शून्य नै रहेको छ भन्दा खासै फरक नपर्ला।
जापानमा अपराध नहुनुलाई यहाँको पब्लिक सचेतनालाई पनि लिन सकिन्छ जब कुनै पनि देशका नागरिकहरू समाजप्रति जिम्मेबार, राष्ट्रप्रति बफादार, एकअर्काको अधिकारप्रति जागरुक रहन्छ अवश्य पनि त्यस देशमा अपराधको दरमा गिरावट त आँउछ नै भविष्यमा समेत अपराध न्यूनिकरण हुँदै जानेछ।
जापानको यो उचाइ र विकाश अनि सुरक्षित र अपराध नहुने देश बनाउनुमा यहाँको शिक्षा पद्धतिलाई महत्वपूर्ण पाटोको रुपमा लिइन्छ । यहाँको विकाश अनि शान्ति सुरक्षाको कुरा गर्ने हो भने कुनै जादुको छडी छुवाएर या चलचित्र जस्तै क्यामेराले मिलाएर बनाएको चै होइन लामो समयको अथक मेहनत र प्रयासले मात्रै आज जापान शान्तिको देश बन्न पुगेको छ । अपराध नहुने देशको रुपमा चिनिन पुगेको छ।
दोश्रो विश्वयुद्धले थिलथिलो बनेको देश जापान आज आएर हतियारले दम्भ निम्त्याउँदछ र युद्ध अपराधले देशको दीर्घकालीन उत्थान गर्न सक्दैन भन्ने कुराको मनन गर्न पुगी शिक्षामा आमूल परिवर्तन गर्दै आज संसारकै बिकसित र सुरक्षित देशको रुपमा उभिन पुगेको छ ।
विकासको अर्थ गगनचुम्बी महल, चिल्ला र फराकिला सडक हरेकका साथमा चिल्ला र महँगा गाडीहरूले मात्र पूरा नभई यहाँको दुरदर्शी शिक्षा प्रणालीलाई मान्दछन् जापानीहरु । र यही शिक्षा प्रति गर्व गर्दै भन्छन् हाम्रा बालवच्चाहरुको सर्वाङ्गीन् बिकाशनै हाम्रो शिक्षा प्रणाली हो ।
यस अर्थमा कुनै पनि देशमा कानुन जति सुकै कडा किन नहोस त्यसलाई अक्षरस पालना गर्ने र कालान्तर सम्म गर्ने र गराउँने कार्य वा चेतना त्यस देशको शिक्षा प्रणालीमा हुनै पर्दछ । अनि मात्रै देश समृद्ध शुसासनयुक्त बन्न सक्दछ ।
नेपालको शिक्षा प्रणालीलाई हेर्ने हो भने देशको भूगोल,वर्तमान स्थिति, अनि बालशूलभ मस्तिष्कमा देशप्रेमतर्फ उन्मुख छैन र देखिदैन पनि । सैद्धान्तिक कुराहरुलाई मात्रै अध्ययन र अध्यायापन गराँउने शिक्षा प्रणालीले भलै हामी नेपालीहरुलाई संसारको जुनसुकै कुनामा गए पनि सैद्धान्तिक र दाश्र्निकहरु त धेरै नै जन्माऊन सहयोग पुर्यायो नै तर यसले देशमा खासै दीर्घकालीन कुनै खाका र परिणाम ल्याँउन सकेन । र ल्याएन नै आजसम्म पनि ।
यसअर्थमा किन जापानमा अपराध हुँदैन भन्ने प्रसङ्ग जोड्दै यहाँको शिक्षा प्रणाली रोजगारी आर्थिक सबलतालाई नै लिन सकिन्छ । आज पनि जापानका ग्रामिण क्षेत्रका कैंयौ घरहरुमा ढोकामा चुकुल नराख्ने प्रचलन छँदैछ । जुन हामी नेपालमा कल्पना मात्रै गर्न सक्दैनौ । यसरी एउटा देशमा राज्यले नागरिकहरुलाई समान रुपमा लिने र अवसर दिने हो सायद नेपालमा पनि अपराध अवश्य घट्ने कुरामा दुई मत नै रहन्न ।
डीसी नेपालबाट